Technology Khabar ६ मंसिर २०८०, बुधबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले फ्रि भिपिएन (Free VPN)को प्रयोग गर्दा सतर्क रहन प्रयोगकर्ताहरु सबैलाई आग्रह गरेको छ।
यसका साथमा प्राधिकरणले भर्चुअल प्राइभेट नेटवर्क-भिपिएन (Virtual Private Network (VPN) इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन प्रयोग गरिने गरेको समेत स्वीकार गरेको छ।
टिकटकमाथि प्रतिबन्ध लागेसँगै नेपालमा फ्रि भिपिएनको प्रयोग बढिरहेको सन्दर्भमा प्राधिकरणले फ्रि भिपिएन प्रयोगमा ह्याकरले ह्याक गर्ने संभावना बढि रहेको उल्लेख गरेको छ।
इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन भर्चुअल प्राइभेट नेटवर्क-भिपिएन (Virtual Private Network (VPN) प्रयोग गरिने भएपनि फ्रि भिपिएनको जथाभावी प्रयोग जोखिमपूर्ण हुनसक्ने सार्वजनिक सूचनामार्फत प्राधिकरणले बताएको छ।
प्राधिकरणले भनेको छ, “इन्टरनेटमा सजिलै प्राप्त हुने अधिकांश फ्रि भिपिएनहरुमा डाटाको सुरक्षा तथा गोपनियतासँग सम्बन्धित कमजोरीहरु रहेको अध्ययनहरुले देखाएका छन् । फ्रि भिपिएनको प्रयोग गर्दा देहाय बमोजिमका जोखिमहरु हुने भएकोले फ्रि भिपिएनको प्रयोग नगरौं / नगराऔं ।”
१. फ्रि भिपिएन प्रदायकहरुले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांकहरु संग्रह गर्ने र तेस्रो पक्षलाई बिक्री/वितरण गर्ने सम्भावना हुन्छ ।
२. फ्रि भिपिएन प्रदायकहरुले प्रयोगकर्ताको सबै अनलाइन गतिबिधिहरु अनाधिकृत रुपमा निगरानीगर्ने सम्भावना रहन्छ ।
३. फ्रि भिपिएन मार्फत इन्टरनेट प्रयोग गर्दा इन्टरनेटको गति तथा गुणस्तर कम हुने हुन्छ ।
४. फ्रि भिपिएन को माध्यमबाट प्रयोगकर्ताको कम्प्युटर/मोबाइलमा मालवेयर डाउनलोड हुन सक्ने र यसले प्रयोगकर्ताको प्रणाली र संवेदनशील डाटालाई हानी पुर्याउने सम्भावना रहन्छ ।
५. फ्रि भिपिएन प्रयोग गर्दा ह्याकरहरुले ह्याक गर्ने सम्भावना बढी रहन्छ ।
प्रकाशित: ६ मंसिर २०८०, बुधबार