टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध अर्को रिट दर्ता

Technology Khabar ४ मंसिर २०८०, सोमबार

काठमाडौं ।

सामाजिक सञ्जाल टिकटक माथि प्रतिबन्ध लगाउने सरकारको विरुद्ध सर्वोच्च अदालतामा अर्को रिट दर्ता भएको छ। आज सोमबार टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरुद्ध एकै पटक नौ जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

कमला अधिकारी, चिरञ्जीवी अधिकारी, आनन्द गौतम, जगन्नाथ दुलाल, अधिवक्ता ममता सिवाकोटी, सुरज प्याकुरेल, संजोग कोइराला, स्मृति श्रेष्ठ र समिक्षा रायमाझीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाई रिट दर्ता गरेका हुन्।

रिटमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रता हनन भएकाले सरकारको निर्णय खारेजी गर्न मा गरिएको छ। निर्णय कार्यान्वयनमा लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको पत्र पनि खारेज गर्न रिटमा माग गरिएको छ।

टिकटकले व्यक्ति–व्यक्तिलाई जोड्नो, उनीहरुलाई अन्तरक्रिया गर्न, विचार सम्प्रेषण वा सञ्चार गर्न र भर्चुअल समुदायहरु निर्माण गरी आफ्ना विचार राख्न तथा सिर्जना तथा उद्यमलाई प्रवर्धन गर्ने अवसर प्रदान गरिएको रिटमा उल्लेख छ।

यस अघि गत शुक्रबार टिकटक प्रतिबन्धका विरुद्ध १० ओटा रिट दर्ता भएका थिए। यी रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो। तर उक्त रिट हेर्न नभ्याउने सूचीमा राखिएको छ। गत २७ कार्तिकमा मन्त्रिपरिषद्ले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित: ४ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया