
काठमाडौं ।
सुन्दा अचम्म लाग्ला तर टावरमुनि रहेका जिल्ला सदरमुकामको गाउँमा नेपाल टेलिकमको फोन लाग्दैन । फोनको नेटवर्कले काम नगर्दा करिब दुई सयभन्दा बढी घरपरिवार टेलिफोन र इन्टरनेटबाट वञ्चित छन् ।
सूचना प्रविधिको विकाससँगै अप्टिकल फाइबर र एनटी फाइबर भित्रिए पनि दशरथचन्द नगरपालिका–४, सपराली, पारी बवेत, ज्युताली, खोलीजर्गलगायतका अधिकांश गाउँमा फोन लाग्दैन । स्थानीयवासी नेटवर्कको खोजी गर्दै सेवाग्राही डाँडातिर उक्लिने गरेका छन् ।
खोली जर्गमा नेपाल टेलिकमको फोन र फोरजीले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको स्थानीय वीरेन्द्र पाण्डेयले बताए।
त्यस्तै पारिबवेत गाउँमा फोनको नेटवर्कले काम नगर्दा समस्या भएको स्थानीय अगुवा सुरेन्द्र वडले गुनासो गरे।
सदरमुकाम आसपासकै गाउँमा फोन नलाग्ने समस्याका बारेमा गुनासो आए पनि केन्द्रबाट बजेट र कार्यक्रम नआएकाले नेटवर्क सुधार गर्न समस्या भइरहेको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए।
२०३५ सालमा सदरमुकाममा सर्वसाधारणको पहुँचमा ल्यान्डलाइनको टेलिफोन सुविधा पुगेको थियो । २०६४ सालपछि स्काइ फोन र नमस्ते फोनले गाउँमा सञ्चारको पहुँच पुगे पनि बैतडीका १० स्थानीय तह र ८४ वडाका सबै गाउँमा अहिले पनि फोनको नेटवर्कले काम गर्दैन ।
पाटन नगरपालिका–१, बाटुलासौँ, गणेशपुर, गुत्थडी, बाउली, बलेत, सिमरोडालगायतका गाउँमा टेलिफोनको नेटवर्क खोज्दै डाँडातिर उक्लिनु पर्छ । फोन गर्न गाउँबाट अग्लो डाँडा खोज्दै उक्लिनु पर्ने बाध्यता उक्त गाउँको मात्रै होइन, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पुर्चौडी नगरपालिकाका अधिकांशको पनि उस्तै समस्या छ।
पाटन नगरपालिका–१ मा सञ्चार सुविधा पुर्याउन नेपाल टेलिकमले दुई वर्षअघि निर्माण सुरु गरेको टावर अझै पूरा नभएको स्थानीय गणेश भट्टराईले बताए । बेलचौरामा टावरका पोल गाडिएका छन्, सोलार पाता र उपकरण पनि जडान भएको छ तर टावर सञ्चालन नहुँदा समस्या भएको उनले बताए।
सिगास गाउँपालिका–१, बेसरा टोलमा बादल लागेको दिन टेलिकमको नेटकर्वले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको स्थानीय जगदीश भट्टले बताए। सबै गाउँलाई पायक पर्ने ठाउँमा टावर नभएका कारण फोन सेवाबाट वञ्चित हुनु परेको हो ।
शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको भारतसित सीमा जोडिएका गाउँमा टेलिकमको नेटवर्कले काम नगर्दा भारतीय सिम प्रयोग हुने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए।
फोरजीले काम नगरेकाले सदरमुकाम क्षेत्रका गाउँमा १० देखि १५ जना ग्राहकले वाइफाइ सुविधाका लागि अग्रिम ग्राहक बन्न चाहेमा एन्टी फाइबर बिस्तार गर्न सकिने टेलिकम प्रमुख सजित प्याकुरेलले बताए। गोरखापत्रबाट
प्रकाशित: २ मंसिर २०८०, शनिबार