ठगी र स्टक हेरफेरको आरोपमा सामसङका मालिकलाई जेल हाल्न माग

  • Technology Khabar | २ मंसिर २०८०, शनिबार
ठगी र स्टक हेरफेरको आरोपमा सामसङका मालिकलाई जेल हाल्न माग

काठमाडौं ।

दक्षिण कोरियाली अभियोजकहरूले शुक्रबार सामसङ इलेक्ट्रोनिक्सका मालिक जे वाई.ली ले सन् २०१५ मा सामसङ सम्बद्ध कम्पनीहरूको आठ बिलियन डलर मर्जर समावेश गरेको अकाउटिङ्ग फ्रड (लेखा ठगी) र स्टक प्राईस म्यानुपुलेसन (सेयर मूल्य हेरफेर) को आरोपमा पाँच वर्षको जेल सजाय माग गरेका छन्।

लीले भने कुनै पनि आरोपको अस्वीकार गरेका छन्। निर्णयअघि, यस मुद्दाको अन्तिम सुनुवाइ यस महिना भित्रमा तल्लो अदालतमा हुने अपेक्षा गरिएको छ भने तीन वर्षसम्म चलेको परीक्षण पनि समाप्त हुने रोयटर्सले रिपोर्ट गरेको छ।

यो मुद्दा ली विरुद्धको अन्तिम भएको जनाइएको छ। साथै यसअघि लीलाई गत वर्ष सामसङको कार्यकारी अध्यक्षको रूपमा उनको नेतृत्वको स्थितिसँग जोडिएको र छुट्टै सजायको लागि माफी दिइएको थियो।

शुक्रबारको सुनुवाइको क्रममा, अभियोजकहरूले सियोल केन्द्रीय जिल्ला अदालतमा ली र अन्य पूर्व कार्यकारीहरूले सन् २०१५ मर्जरलाई सम्भव बनाउन क्यापिटल मार्केट्स ऐन उल्लङ्घन गरेको आरोप लगाएका छन्, जसले लीलाई समूहको प्रमुख सामसङ इलेक्ट्रोनिक्सको ठूलो नियन्त्रण लिन मद्दत गरेको दाबी गरिएको छ।

त्यसैगरी अभियोजकहरूले समुह सम्बद्ध कम्पनीहरू सामसङ सीएन्डटी र चेइल इन्डस्ट्रीजको मर्जरमा कार्यकारीहरूको संलग्नता रहेको आरोप लगाएका छन्, जसमा स्टक मूल्य हेरफेर र अन्य गलत कार्यहरू समावेश रहेकाले उनीहरूलाई अल्पसंख्यक लगानीकर्ताहरूको खर्चमा फाइदा पुर्याएको उल्लेख छ।

“प्रतिवादीहरूले नेताको उत्तराधिकारलाई सहज बनाउन पूँजी बजारको जगलाई कमजोर पारे,” अभियोजन पक्षले बताएका छन्, “उनीहरूले समूह नेताको निजी स्वार्थका लागि कम्पनी र शेयरधारकहरूले प्रदान गरेको अधिकारको र जानकारीको चरम असंतुलनको दुरुपयोग गरे।”

ली र कार्यकारीहरूले गलत काम गरेको आरोपलाई अस्वीकार गरेका छन् भने अभियोजकहरूले मुद्दा लिएका मर्जर र लेखा प्रक्रियाहरू सामान्य व्यवस्थापन गतिविधिहरूको हिस्सा भएको बताएका छन्।

प्रतिवादीहरूको अन्तिम बहस शुक्रबार पछि सुनुवाइ हुने उल्लेख गरिएको छ।

शुक्रबारको सुनुवाइमा ली उपस्थित भएका थिए। समर्थकहरूको सानो समूहले सुनुवाइको समयमा अदालत बाहिर उनको नामसहितको नारा लगाएका थिए भने आलोचकहरू उनीमाथि रिसाएको उल्लेख छ।

विश्लेषकहरूले फैसलाको आधारमा लीले सामसङ इलेक्ट्रोनिक्स र यसका सम्बद्ध कम्पनीहरूको भविष्यलाई आकार दिन सजिलो वा बढी गाह्रो हुने बताएका छन्। सफाइले उनलाई विशेष गरी मर्जर र एक्विजिसनमा प्रमुख रणनीतिक निर्णयहरू गर्न थप ठाउँ दिनेछ।

यसअघि लीलाई दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन–हेलाई घूस दिएको अभियोगमा दोषी ठहर गरिएको थियो र उनी सन् २०१७ देखि २०२१ सम्म कुल १८ महिना जेल बसेका थिए। त्यसपछि उनलाई सन् २०२१ मा पेरोल अर्थात हाजिरी जमानीमा छोडिएको थियो। र पछि सन् २०२२ मा माफी दिइएको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २ मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...