
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायकहरुले आजदेखि पूर्णरुपमा टिकटक बन्द गर्ने भएका छन्।
सरकारले सोमबार निर्णय गरेर नेपालभित्र टिकटक प्रतिबन्ध लगाउने घोषणा गरेको छ। सोहीअनुसार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरुलाई टिकटकमा पहुँच बन्द गर्न निर्देशन दिईसकेको छ।
यसैबीच सेवा प्रदायकहरुले सरकारी निर्देशनअनुसार आज १ बजेपछि पूर्णरुपमा टिकटक बन्द गर्ने जानकारी दिएका छन्।
यस बारेमा आजै आइस्पानको बैठक बसेर छलफल समेत गरिएको थियो। जसअनुसार उनीहरुले सामूहिकरुपमा नै १ बजेदेखि क्रमशः टिकटकमा रोक लाग्ने बताएका छन्।
उनीहरुले टिकटक प्लेटफर्मका साथै एपमा पनि पहुँच रोक्ने छन्।
स्मरण रहोस् नेपाल टेलिकमले सोमबार बेलुकादेखि नै टिकटकमा पहुँच गर्न रोक लगाएको छ।
उता इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आइस्पानले समेत आज बेलुकासम्ममा पुर्णरुपमा टिकटकमा पहुँच बन्द हुने जानकारी दिएको छ।
आइस्पानका सीईओ सुभाष खड्काले भने, “सरकारको निर्देशन पालना गर्न सबै सेवा प्रदायकहरुले प्राविधिक काम गर्दै गरेका छन्। बेलुकासम्म निर्देशन पूर्ण कार्यान्वयन हुनेछ।”
सेवा प्रदायकहरुले टिकटकको डीएनएस बन्द गरेसँगै टिकटकमा पूर्ण रोक लाग्नेछ।
सेवा प्रदायकहरुकाअनुसार टिकटकको ‘लोकल क्यास सर्भर’ नेपालमा नभएको र अकामाईको क्यास सर्भरमा निर्भर रहेको हुँदा डीएनएस बन्द गरेसँगै टिकटकमा पहुँच ठप्प हुनेछ।
प्रकाशित: २८ कार्तिक २०८०, मंगलवार