Technology Khabar २७ कार्तिक २०८०, सोमबार
काठमाडौं ।
अटोमेसनको वास्तविक अर्थ सबै प्रक्रिया स्वचालित हुनु हो। अटोमेसनले औद्योगिक उत्पादन र सेवामूलक क्षेत्रले प्रवाह गर्ने सेवाको स्तर वृद्धि गर्दै लैजान्छ । सर्वसाधारणले हिजोभन्दा सरल र सहज ढंगमा सेवा पाएको अनुभूतिमा अटोमेसनको प्रभाव नाप्न सकिन्छ।
नेपालमा सर्वसाधारण पाउने सेवामा हिजो प्रयोग भएकै औजारहरू प्रचलनमा छन् । पुरानो र नयाँ पुस्ताले मेसिनरीमा भिन्नता अनुभव गर्न पाएको छैन । यो विडम्बना उद्योगको हकमा मात्र लागू हँुदैन । कम्पनी रजिस्ट्रारको कार्यालय गयो भने सेवाग्राहीले हातले विवरण भरेको देखिन्छ । हामी डोरी बाँधेर राख्ने फाइल पद्धतिबाट मुक्त भएका छैनौँ । सामान्य परिभाषामा डोरी बाँधेर राख्ने फाइल पद्धतिबाट मुक्त भएको दिन नेपालमा अटोमेसनले काम गर्न थाल्यो भन्न सकिएला ।
औद्योगीकरणमा अटोमेसनले टेवा दिन सक्नु व्यवसायी र नागरिकको हितमा हुन जान्छ । उद्योग मन्त्रालयले यसका लागि आवश्यक व्यवस्था गर्न जरुरी छ । उद्योगहरूले पनि विस्तृत अध्ययन गरेर आफ्ना उद्योगमा गर्नुपर्ने सुधार आत्मसात गर्नुपर्छ । भौतिक पूर्वाधार निर्माणमा आयोजना सम्पन्न हुने समयको अनुमान गर्न मुस्किल छ । यसले अटोमेसनको कति महत्वपूर्ण छ भन्ने देखाउँछ ।
अटोमेसनको युगमा प्रवेश गरेपछि सरकारी तहबाट निर्णय प्रक्रियामा ढिलाइ हुने छैन । सम्बन्धित मन्त्रालयले सहजीकरण हुने हिसाबले निगरानी गर्ने र सिधै निर्देशन दिन सक्छन् । यद्यपि हामी यी विषयमा चुकिरह्यौँ । नागरिकको कामलाई अझै सजिलो बनाउनेतर्फ अग्रसर भएनौँ ।
सरकारले अटोमसनको प्रयास नगरेको भने होइन । उद्योग दर्ताका लागि एकलविन्दु सेवा केन्द्र ल्याएको हो । सरकारले राम्रो गर्न खोजे पनि सो प्रयास पर्याप्त नभएको देखिन्छ । सरकारको प्रयास त्यतिबेलापछि अर्थ राख्ने रहेछ जुन बेला सेवाग्राहीले पाएको सुविधामा अन्तर आउँछ । उद्यमी सेवाग्राहीको आवश्यकतालाई बुझ्न सरकारी पक्षले नसकेको देखिन्छ ।
यद्यपि, अटोमेसनका लागि सरकारको एक्लो प्रयास काफी छैन । उद्योगीले पनि आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । कुनै पनि उद्योगमा जाँदा सेवाग्राहीले कोठाकोठा चहार्ने अवस्थाको अन्य उद्योगी स्वयम्ले गर्नुपर्छ । यसमा सरकारी प्रणालीलाई मात्र दोष दिएर उम्कने ठाउँ छैन ।
कर प्रणाली बिस्तारै अटोमेसनमा प्रवेश गरेको छ । करमा अटोमेसन डिजिटाइजेसनका कारण हासिल भएको हो । काम अनलाइनबाटै हुन्छ । सम्पन्न पनि अनलाइनमार्फत् नै गर्न सकिन्छ । व्यक्ति स्वयम् उपस्थित हुनपर्दैन । नागरिकले छिटो, छरितो सेवा पाउँछन् । सहजता महसुस गर्छन् । कर कार्यालयले यो कुरा नेपालमा पनि प्रमाणित गरेको छ । अहिले करको काम अनलाइनबाट सजिलै गर्न सकिन्छ ।
कर प्रणालीमा हासिल अटोमेसन नागरिक तहमा महसुस भएको छ । एउटा उद्योगी आम नागरिकको रूपमा उद्योग दर्ता गर्न जाँदा होस् वा कर तिर्न जाँदा होस् प्रक्रिया अवगत हुन आवश्यक छ । सबै ठाउँमा अटोमेसन भएको त छैन तर काहीँ पनि नभएको भने होइन । अटोमेसन बृहत् विषय हो । भोलि कहाँ पुग्ने भन्ने बाटो आजको अटोमसेनको अवस्थाले देखाउँछ ।
आम नागरिक र उद्योगीले देखेको अटोमेसन फरक छ । परिवेश एउटै हो, सुविधा उस्तै हो, उद्यमीका लागि थप पक्ष थपिन्छन् । कलकारखानाको काम छिटो छरितोरूपमा गर्नुपर्छ । अचेल एउटा सामाजिक सञ्जाल मेसेन्जर ह्वाट्स एपबाटै काम हुन्छ । निर्देशन दिन मिल्छ, यसलाई अटोमेसनको नयाँ पाटो मान्न सकिन्छ ।
कर प्रणाली अनलाइन भए पनि कहिलेकाहीँ झमेला आउने गरेको छ । सरकारीस्तरमा अटोमेसनमा धेरै काम गर्नुपर्ने देखिन्छ । फाइल बोकेर एउटा कोठाबाट अर्को कोठा पुग्न नपरोस् । सरकारले नागरिकको सहजतालाई विभिन्न योजना ल्याए पनि त्यस्ता योजनाहरू कता–कता अल्मलिएको महसुस हुन्छ । सबैले सोचेअनुसार अटोमेसनको काम नहुनुमा केही प्रक्रियागत त्रुटि, गड्बढी पनि भएको हुन सक्छन् ।
कम्पनी दर्ता पनि धेरै सजिलो भएसकेको छ । नेपालमा उद्योग स्थापना गर्न विदेश गएका नेपालीका लागि पनि सजिलो भइसकेको छ, अनलाइनबाट धेरै काम सक्ने अवस्था आइसकेको छ । कम्पनी दर्ताका लागि अझै पनि हातमा एउटा कागज बोकेर जानुपर्छ । कागजमा नत्थी लगाउनै पर्छ । यसलार्ई अर्धअटोमेसन भन्न सकिन्छ ।
कम्पनी दर्ता भएको केही समयमा फेरि काम पर्यो भने आफ्नै फाइल खोज्न समय लाग्छ । फाइल नभेटिने, भेटिए पनि सही अवस्थामा नहुने कारण सरकारी अड्डामा आफ्नो कागजपत्र निर्धक्क राख्ने अवस्था छैन । सेवाग्राहीलाई दर्ता नम्बर पनि दिइएको हुन्छ । साथमा सरकारी कागजहरू पनि हुन्छन् । तर आफ्नै काजगात हराउलान् भन्ने पिर सधैँ रहन्छ ।
कोरोना महामारीले नेपालमा अटोमेसनको आवश्यकता महसुस गराइदियो । अटोमेसनको सुरुवात बैंकिङ प्रणालीबाट भयो । मोबाइलबाटै रकम पठाउन पाउन सकिने क्रमले तीव्रता पायो । पैसा प्राप्त गर्न वा पठाउन बैंकसम्म पुग्नुपर्ने, झमेला व्यहोर्नुपर्ने अवस्था अब छैन । रकम बोक्दा सुरक्षा नहुने परिस्थिति सकियो ।
उद्योगको हकमा उद्योगीहरूले लगानी गरेपछि नाफा गर्नुपर्छ । नाफा भनेको पैसा हो । पैसा समयको गतिसँग जोडिएको छ । यसको अर्थ कुनै काम गर्न बढी समय लाग्छ भने उसको लागि नोक्सान भइरहेको हुन्छ । त्यो समय सो व्यवसायीको अर्को गतिविधिमा लगाउने हो भने नाफा बढ्छ । नेपालमा नाफा आर्जन गर्न समय लाग्ने भएकाले देशबाट अर्बौँ रुपैयाँ पलायन भइरहेको छ ।
चुनौती र विकल्प
उद्योग अटोमेसन आजको आवश्यकता हो । अटोमेसनको लागि सफ्टवेयर इन्जिनियरलाई अध्ययन गर्न दिनेबित्तिकै तुरुन्तै नतिजा पाउने स्थिति छैन । नीतिगत अस्थिरता त छँदैछ । अटोमेसनको नेतृत्व प्रधानमन्त्रीको कार्यालयबाट हुनुपर्छ । एक जना सचिवलाई अटोमेसनको जिम्मेवारी दिनुपर्छ । यसमा भएको प्रगति उनै सचिवले प्रधानमन्त्री, सरोकारवाला, व्यवसायी र आम नागरिकलाई जानकारी गराउनुपर्छ । उनै सचिव यो कामका लागि उत्तरदायी हुनुपर्छ । ती सचिवले कुनै अरू निकायको जिम्मा लिनुको सट्टा सबैलाई एउटै प्रणाली समाहित गर्ने जिम्मेवारी बहन गर्नुपर्छ ।
हरेक मन्त्रालय, विभाग र निकायले अटोमेसनतर्फ सोही सचिवको मातहतमा गर्दा व्यवसायीलाई दिगो संरचना निर्माण भएको महसुस हुनेछ । त्यसपछि मात्र उद्योगलाई स्वतः सञ्चालित प्रणालीको बारेमा अध्ययन र पछि कार्यान्वयन गर्ने आत्मविश्वास सिर्जना हुन्छ । यसरी मिलेको उत्साहसँगै अध्ययन गर्ने मौका पाएपछि अटोमेसनमा उद्योगको वास्तविकता थाहा पाउन सकिन्छ । व्यवसायीले चुनौती तथा सम्भावना आकलन गर्ने अवसर पाउँछन् । फलस्वरूप, भविष्यमा हुने औद्योगिक उपलब्धिको अनुमान गर्र्न सकिन्छ ।
कति अवधिभित्र अटोमेसनको कुन चरणमा पुग्ने सामान्य योजना अवश्य चाहिन्छ । हचुवाको भरमा योजना बनाउन मिलेन र त्यसो गर्नुको अर्थ पनि रहँदैन । सरकारी तबरबाट बनेका योजनाका आधारमा निजी क्षेत्रले तालमेल गर्दा मात्र गति मिल्छ । प्रधानमन्त्री कार्यालयअन्तर्गत बनेका योजनालाई आधार बनाउने हो भने मात्रै कामले गति पाउँछ । हालको परिस्थितिले काममा गति मिल्ने अवस्था छँदैछैन । यदि हुन्थ्यो भने विगत ३० वर्षदेखि प्रयोग भइरहेका मेसिनको भरमा आजका उद्योग चलेका हुँदैनन् थिए ।
एउटा लगानी सम्मेलनमा सहभागी विदेशी राजदूतले सुनाएका अनुभव अझै सम्झना आउँछ । त्यहाँ एकपटक नागरिकको विवरण लिएपछि सबैजसो सरकारी काममा त्यही डाटा तथा विवरणको प्रयोग गरिन्छ । नागरिकताकै लागि दिइएको विवरणबाट पासर्पोट र अन्य प्रमाणपत्र बन्छन् । त्यहाँ नागरिकहरूले यहाँको जस्तो पटकपटक आफ्नो विवरण भरिरहनु पर्दैन । एक पटक पठाएको विवरणको आधारमा सबै सरकारी कागज तयार हुनुभनेको नागरिकहरूको लागि ठूलो राहत हो । नेपालको हकमा फरक छ । एउटा सरकारी काम गर्नुछ भने आफ्नो काम नै छाडेर अड्डा धाउनुपर्छ ।
सबै सरकारी सेवा एउटै मोबाइल एपमा उपलब्ध गराउने हेतुले नागरिक एपको अभ्यास गर्न खोजिनु सरकारी तबरबाट भएको एउटा प्रशंसायोग्य काम हो । सफलताका लागि सुरुवात त गर्नैप¥यो । त्यस्तो सफलता हाम्रो पालामा नै कतिसम्म महसुस गर्छौँ भन्नेचाहिँ सोचनीय विषय हो ।
अटोमसनले बालबलिकादेखि वृद्धलाई समेत समेटनुपर्छ । विदेशी मुलुकहरूमा तीन सयभन्दा धेरै सेवा अटोमेसनमा गएका छन् । अर्थात्, एउटा बच्चाको जन्मदर्ता गरेपछि उसले वृद्ध हुँदासम्म त्यही जन्मदर्तालाई प्रयोग गर्न मिल्छ । एउटा मान्छे एकपल्ट मात्रै जन्मिन्छ । सरकारले त्यो रेकर्ड राखेकै हुन्छ । त्यसपछि पनि विवरण माग्नुहुँदैन किनकि व्यक्ति त आखिर एउटै हो । यसर्र्थमा कागज युग नै हाम्रो अटोमेसनको मुख्य बाधक बनेको छ । जन्मदर्ता देखाएपछि नागरिकता लिन कुनै पनि समस्या हुन नहुने सरकारी अटोमेसनको आवश्यकताको खाँचो छ । कहिलेकाहीँ त लाग्छ, देशका नेतृत्व वर्गलाई ती देशको अटोमेसन अभ्यास देखाइदिउँ ।
नेपालमा त यस्तो अवस्थामा गुज्रिरहेका छौँ कि यहाँ अनलाइन फर्म भरे पनि प्रिन्ट गरेर हातैमा बोकेर सरकारी कार्यालय पुग्नुपर्छ । ढड्डा युगले अन्त्य पाएको छैन । अनलाइन फर्मको मात्रै विश्वास गर्ने वातावरण अझै बनेको छैन । अनलाइफन फर्मको प्रिन्ट बोकेर ‘नमस्ते हजुर, यो मिल्यो कि मिलेन होला ? हेरिदिनोस् त !’ भन्नुपर्ने अवस्था छ । यस्तो स्थिति कायम रहेसम्म अटोमेसनको वास्तविक परिभाषा पनि लज्जित हुन्छ । यस विषयमा आत्मबोध सरकारी तहमा भएन ।
उद्योग दर्ता गर्दा सात पानाको फारम भर्नुपर्ने प्रक्रिया केही छिटो त भएको छ, तर प्रभावकारी देखिँदैन । विगतमा आफ्नो जग्गा दर्ता गराएर, आईईई गराएर मात्रै उद्योग दर्ता हुन्थ्यो । केही फरक छ, आयकर दर्ता, प्रबन्धपत्र नियमावली, सेयर होल्डरहरूको नागरिकता राखेर उद्योग दर्ता गर्न सकिन्छ । उद्योग दर्तामा थुपै झमेला हटेको त छ, यसमा अटोमेसनको केही देन पक्कै छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अर्थचित्रबाट साभार
(अग्रवाल नेपाल उद्योग परिसंघका अध्यक्ष हुन् ।)
प्रकाशित: २७ कार्तिक २०८०, सोमबार