१९ जिल्लामा नमूना सेवा उपलब्ध गराउँदै नेपाल टेलिकम

  • Technology Khabar | २४ कार्तिक २०८०, शुक्रबार
१९ जिल्लामा नमूना सेवा उपलब्ध गराउँदै नेपाल टेलिकम

काठमाडौं ।

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु माग बमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न लागेको छ। यस्ता जिल्लाका सबै वस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने जानकारी दिएको छ।

देशका सबै जिल्लाहरुमा यसैगरी सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ। हाललाई पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोर्खा, दाङ्ग, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पा जिल्लामा कम्पनीले नमूना सेवा उपलब्ध गराउने भएको छ।

हाल सेवाका दृष्टिबाट नमूनाका रुपमा कायम गरिन लागिएका जिल्लाहरुमा आवश्यकता बमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्याण्डर्ड सेट्स तथा सेवाहरु कायम हुनेगरी नेटवर्क स्थापित गरिनेछ।

यी स्थानहरुमा निरन्तर गुणस्तरीय सेवा उपलब्धताको लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रबिधि र नेटवर्क पूर्वाधार तय गरिनेछ। ती जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानव वस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइबर सेवा उपलब्ध गराइने बताईएको छ।

कम्पनीकाअनुसार सबैतिर तोकिएकै गुणस्तर र गतिमा सेवाको उपलब्धता कायम गर्न अतिरिक्त योजना समेत बनाएर आवश्यक दक्ष जनशक्तिको उपलब्धता पनि निरन्तर हुनेछ।

नमूना जिल्लाहरुमा सेवाग्राहीले दूरसञ्चार सेवा खरिद गर्न, जडान तथा मर्मतसम्भार, महशुल भुक्तानी जस्ता सेवाहरु प्राप्त गर्न कम्पनीका कार्यालयमा उपस्थित नभईकन फोनबाट (कल सेन्टर मार्फत) सेवासम्बन्धी सबै कार्य गर्न सकिने व्यवस्था गरिने उल्लेख छ।

यसमा सेवासम्बन्धी कुनै गुनासो वा सिकायत रहेमा शीघ्र सम्बोधन गरी सेवा सञ्चालन गर्ने कार्य हुनेछ। बिना अवरोध सेवा प्रवाहका लागि सरोकारवाला निकायहरु विद्युत प्राधिकरण, खानेपानी, सडक लगायतका निकायहरुसँगको आवश्यक समन्वयमा पूर्वाधार निर्माण र सेवा विस्तारका कार्यहरु सम्पन्न गरिने जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार