Technology Khabar २४ कार्तिक २०८०, शुक्रबार
काठमाडौं ।
नेपालगञ्ज उपमहानगरपालिकाका २३ ओटै वडा डिजिटलाइज भएका छन्। वडाहरूबाट हुने सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको हो।
सार्वजनिक सेवाहरूको डिजिटलाइजेशनका लागि घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ गरिएको छ।
नगर प्रमुख प्रशान्त विष्टले आज (बिहीबार) एक कार्यक्रमका बीच घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ गरे।
जिआइजेडको सहयोगमा वडाहरूबाट प्रवाह हुने सेवालाई डिजिटलाइज गरिएको हो । सुरुमा नेपालगञ्जका चार ओटा वडामा मात्र पाइलटिङको रुपमा यी सेवा शुरु गरिएको थियो।
सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर घनश्याम बर्माकाअनुसार वडा नम्बर १, ४, १२ र २० मा सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको थियो । यी वडाहरूमा यी सेवा प्रभावकारी देखिएपछि सबै वडामा विस्तार गरिएको हो।
सेवा शुभारम्भ गर्दै नगर प्रमुख विष्टले डिजिटलाइजेशनपछि अब हरेक वडामा जनताले छिटोछरितो र सहजरुपमा सेवा पाउने बताए। नेपालगञ्ज उपमहानगरपालिकालाई ‘पेपरलेस’ बनाउने अभियान अन्तर्गत वडाहरूको डिजिटलाइजेशन भएको बताउँदै उनले प्रविधिको क्षेत्रमा यो अर्को फड्को भएको उल्लेख गरे।
जिआइजेडका नेपालगञ्ज प्रमुख निराजन सुवेदीले चार वटा वडामा प्रभावकारी देखिएपछि सबै वडामा विस्तार गरेर नेपालगञ्ज उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउन सहयोग गरेको बताए।
डिजिटल सेवा शुभारम्भ गर्न जिआइजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले २३ ओटै वडाका वडा सचिव लगायत कर्मचारीहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो।
नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि नै २३ ओटै वडामा इन्टरनेटको पहुँच, अनलाइन सिफारिस प्रणाली, फ्रि–वाइफाई, सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण शुरु गरेर प्रविधिमा आफूलाई अपग्रेड गराउँदै लगेको सूचना प्रविधि इन्जिनियर बर्माले बताए।
प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार