
काठमाडौं ।
अर्बपति इलन मस्कद्वारा सञ्चालित टेस्ला चाँडै नै भारतीय सडकमा दौडिन सक्ने नयाँ रिपोर्ट आएको छ। भारतको केन्द्र सरकारले जनवरी २०२४ सम्ममा देशमा प्रवेशका लागि सम्बन्धित विभागहरूबाट आवश्यक सबै स्वीकृतिहरू उपलब्ध गराउने प्रक्रियालाई तीव्रता दिइरहेको छ।
रिपोर्टका अनुसार भारतीय प्रधानमन्त्रीको कार्यालय (पीएमओ) ले सोमबार उच्च अधिकारीहरूसँग टेस्लाको लगानी प्रस्तावसहित देशमा विद्युतीय सवारी (इभी) निर्माणको आगामी चरणको समीक्षा गर्न बैठक गरेको थियो।
जून महिनामा मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा भेटवार्ता भएको थियो। यसपछि भारतमा टेस्लाको योजनाबारे केन्द्रीय वाणिज्य तथा उद्योग, हेभी इन्डष्ट्रि तथा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयहरू छलफलमा व्यस्त छन्।
सेप्टेम्बरको एक रिपोर्टले टेस्लाले भारतमा ब्याट्री भण्डारणको लागि कारखाना बनाउने योजना गरिरहेको र त्यसको लागि सरकारलाई प्रस्ताव पनि पठाएको बताएको थियो।
इलेक्ट्रिक कार निर्माताले हालैका बैठकहरूमा आफ्नो “पावरवाल” को साथ देशको ब्याट्री भण्डारण क्षमतालाई समर्थन गर्ने प्रस्ताव राख्यो।
मस्कले भारतमा टेस्ला आपूर्ति प्रणाली निर्माण गर्ने लक्ष्य पनि राखेका छन्।
भारतका केन्द्रीय वाणिज्य मन्त्री पियुष गोयलले यो वर्ष भारतबाट १.९ बिलियन डलरसम्मको अटोमोबाइल पार्टपुर्जा किन्ने ईभी प्रमुख खेलाडीको योजना रहेको बताएका थिए।
मन्त्रीले गत वर्ष टेस्लाले भारतबाट १ अर्ब डलरको कम्पोनेन्ट खरिद गरिसकेको र यो वर्ष १.७–१.९ अर्ब डलरको लक्ष्य रहेको बताएको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: २२ कार्तिक २०८०, बुधबार