केयुले २८ नवीनतम सोचका परियोजनालाई १ करोड ४० लाख लगानी गर्ने

Technology Khabar २१ कार्तिक २०८०, मंगलवार

केयुले २८ नवीनतम सोचका परियोजनालाई १ करोड ४० लाख लगानी गर्ने
फाइल तस्विर

काठमाडौं ।

काठमाडौ विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपैयाँ लगानी गर्ने भएको छ।

केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका लागि लगानी गर्ने भएको हो।

नवीनत्तम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रम अन्तर्गत इनरजाइज नेपाले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित नवीनतम सोचलाई (इनोभेटिभ आईडिया) मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ र यस अन्तर्गत सम्पूर्ण नेपाली नागरिकहरुले आवेदन दिन सकिने छ भने १ करोड ऊर्जा लगायत अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परिणत गर्न उपलब्ध गराइने छ।

यस अन्तर्गत आवेदकहरु केयुसँग आवद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारी लगायतले मात्र आवेदन दिन पाउनेछन्।

केयुका अनुसार, प्रत्येक नवीनत्तम सोचलाई ५ लाख गरी २८ ओटा नवीनत्तम सोचलाई परियोजनाबाट सहायता पाउनेछन्। कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइल नेपालले केयुलाई ४० लाख रुपैयाँ उपलब्ध गराएको हो।

आज (मंगलबार) देखि लगानीका लागि आवेदन दिन सकिने र ३१ डिसेम्बरसम्मका लागि आवेदन दिन समय राखिएपनि निवेदन दिएपछि दुई हप्ताभित्रै लगानीयोग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिए ।

‘नवीनता सोचमा आधारित व्यापार र व्यवसायको प्रवद्र्धन गर्ने, यसमार्फत रोजगारी सिर्जना गर्ने र यसमार्फत विद्यार्थीदेखि लगानी गर्न चाहनेहरुसम्मका लागि अवसर सिर्जना गरी यसमार्फत देशको अर्थतन्त्रमा योगदान दिने उद्देश्यसहित कार्यक्रम सुरु गरेका हौं,’ उनले भने, ‘लगानी योग्य प्रस्तावको मूल्यांकन दुई हप्ताभित्र भएर उनीहरुको सोचको परियोजना लगानीयोग्य भए तुरुन्तै सहायता पाउनेछन्।’

प्रस्तावित परियोजना लगानीयोग्य नभएमा उनीहरुलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए। केयुले प्रस्ताव आएपछिको मूल्यांकन गरी निर्णयका लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ।

केयु अन्तर्गत इकुबेसन सेन्टरले १०, इनरजाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले १० वटा विभिन्न नवीनत्तम आइडियालाई लगानी गरिसकेको छ। विशेष गरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरुले लगानी गरेका छन्। इनरजाइज नेपालकाअनुसार यस आयोजना मार्फत दुई सय भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाईसकेका छन्।

लगानी गरेको रकमबाट आएको मुनाफालाई फेरि नवीनतम सोचमा आधारित लगानी गर्ने गरी कार्यक्रम अघि बढेको प्रबन्धक थापाले जानकारी दिए।

विद्यार्थी लगायतलाई उद्योग व्यवसायतर्फ आकर्षित गरी रोजगारी सिर्जना र अर्थतन्त्रमा योगदान दिने उद्देश्यले केयुले सन् २०१५ इन्कुबेसन सेन्टर स्थापना गरेको थियो। इनरजाइज नेपाल भने नर्वेजियन सरकारको सहयोगमा नर्वे राजदूतावासमार्फत अध्ययन, अनुसन्धान र नवीतम सोचको परियोजनाका लागि सञ्चालित कार्यक्रम हो।

इनरजाइज नेपालको केयु, हाइड्रो ल्याब, एनटिएनयु र सिन्टेफ साझेदार छन् भने यसको व्यवस्थापन केयुले गर्दै आएको छ। यसअन्तर्गत क्षमता अभिवृद्धि र व्यापार व्यवसायमा अभिप्रेरित गर्नका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने लक्ष्य राखिएको छ। यसअन्तर्गतका परियोजनाका लागि नर्वेजियन सरकारले ५१ मिलियन अर्थात करिब ६५ करोड नेपाली रुपैयाँ सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया