भूकम्प प्रभावित क्षेत्रमा टेलिफोन सेवा सहज बन्दै

Technology Khabar २१ कार्तिक २०८०, मंगलवार

भूकम्प प्रभावित क्षेत्रमा टेलिफोन सेवा सहज बन्दै
बाग्लुङ्गमा रहेको नेपाल टेलिकमको टावर। फाइल तस्वीर।

काठमाडौं ।

भूकम्प प्रभावित क्षेत्रमा टेलिफोन सेवा सहज बन्दै गएको छ। जाजरकोटको बारेकोट १ रामीकाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि टेलिफोन सेवा अवरुद्ध नभए पनि सेवाको गुणस्तरमा समस्या देखिएको थियो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई सेवा सुधार गर्न निर्देशन दिएकी थिइन्।

नेपाल टेलिकमको घेत्मा रिपिटर स्टेशनमा आएको पावरको समस्याका कारण सो टावरमार्फत सञ्चालित दश ओटा साइट टावरबाट प्रवाह हुने फोन र डाटा सेवामा समस्या देखिएको थियो। सो टावरमा रेक्टिफायर मर्मत र जेनेरेटर सञ्चालनपछि दश वटै साइट टावरको सेवा सहज बन्दै गएको नेपाल टेलिकमले जनाएको छ।

त्यस्तै नायकवाडा सोलार साइडको समस्या समाधानका लागि बुटवलबाट जेनेरेटर लिएर प्राविधिहरु त्यसतर्फ प्रस्थान गरेको पनि टेलिकमले जनाएको छ। सेवाको गुणस्तर वृद्धिका लागि सल्लाभीरदेखि खारा र घेत्मादेखि सल्लाभीर बिचको माइक्रोवेब लिंकको क्षमता ५०० एमबीपीएसबाट २.५ जीबीपीएस बृद्धि गर्न प्राविधिकहरुले काम गरिरहेको टेलिकमका अधिकारीहरुलाई उधृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए।

त्यस्तै घेत्मा-आठबीसकोट-गोतामकोटबिचको माइक्रोवेब लिंकको क्षमता १८३ एमबीपीएसबाट ५०० एमबीपीएस बृद्धि गर्नका लागि प्राविधिहरु त्यसतर्फ गइरहेको र बढीमा दुुई दिनपछि सेवामा सुधार आउने जनाइएको छ। निर्माण भएर सञ्चालनमा आउन नसकेको रुकुमपश्चिम मग्गाको टावर पनि टेलिकमले भोलि बुधवारदेखि सञ्चालनमा ल्याउने गरी व्यवस्था मिलाइएको केसीले जानकारी दिए।

नेपाल टेलिकमले आफ्ना कार्यालयका अतिरिक्त भूकम्प प्रभावितस्थलमै अस्थायी शिविर राखेर पनि सेवालाई गुणस्तरीय बनाउने तयारी थालेको जनाएको छ । यसका लागि काठमाडौं, भइरहवा र सुर्खेतबाट थप जनशक्ति परिचालन गरिएको छ।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया