परिचयपत्र आयो तर लिने व्यक्ति आएनन्

Technology Khabar २१ कार्तिक २०८०, मंगलवार

काठमाडौं ।

सरकारले नागरिकता बनाएसँगै राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रूपमा विवरण सङ्कलन गराउनुपर्ने व्यवस्था लागु गरेपनि बिबरण संकलन गराउने नागरिकमा राष्ट्रिय परिचयपत्र प्रति कुनै चासो भने देखिएको छैन।

राष्ट्रिय परिचयपत्रप्रति नागरिकको आकर्षण नभएका कारण महिनौंदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा करिब दुई हजार थान परिचयपत्र थन्किएका छन्।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रका लागि अभियान सञ्चालन गरेर विवरण सङ्कलन गराएका मध्ये हालसम्म दुई हजार ५०६ थान परिचयपत्र जिल्लामा आइपुगेको छ।

आएको परिचयपत्र मध्ये हालसम्म ५७२ जनाले मात्रै आफ्नो परिचयपत्र लगेको प्रशासन कार्यालयले जनाएको छ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा परिचयपत्र प्राप्त भने पनि सम्बन्धित व्यक्ति परिन्नयपत्र लिन नआएको बताईन्। उनले परिचयपत्र लिन आउनका लागि सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज पठाउने तथा परिचयपत्र लिन आउन कार्यालयको आधिकारिक सामाजिक सञ्जालबाट आह्वानसमेत गरिएको बताईन्।

परिचयपत्र लिन सम्बन्धित व्यक्ति नआएका कारण कार्यालयलाई ती परिचयपत्र सुरक्षित राख्ने चुनौतीसमेत थपिएको छ।

“राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गराउनुपर्ने व्यवस्था गरेपछि कतिपय व्यक्तिले विदेशबाट नेपालमा आएर विवरण संकलन गराएको हुनाले पनि परिचयपत्र लिन आउनेको सङ्ख्या कम भएको हो कि भन्ने आकलन गरिएको छ,” प्रजिअ शर्माले भनिन।

प्रशासन कार्यालयले नागरिकता बनाएको एक सातापछि राष्ट्रिय परिचयपत्रको फोटो खिच्ने व्यवस्था गरेको छ भने राहदानी बनाउने तथा नवीकरण गर्न आउने सेवाग्राहीलाई समेत अनिवार्यरूपमा परिचयपत्रका लागि बिबरण संकलन गराउनुपर्ने व्यवस्था गरेको छ।

काभ्रेपलाञ्चोक जिल्लामा २०७७ असार ७ देखि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गराउने अभियान सञ्चालन गरिएको थियो।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया