
काठमाडौं ।
भारतमा सेलुलर अपरेटर एसोसिएसन अफ इन्डियाले अनलाइन सपिङ प्लेटफर्म अमेजनलगायत टेक दिग्गज माइक्रोसफ्टमाथि आपत्ति जनाएको छ।
वास्तवमा केही समयअघिसम्म मोबाइलमा एसएमएसमार्फत अमेजनको डेलिभरी अपडेट प्राप्त हुने गरेको थियो तर अहिले कम्पनीहरूले यसका लागि ह्वाट्सएप, टेलिग्राम जस्ता एपहरू प्रयोग गरिरहेका छन्, जुन भारतीय नियमविपरीत र देशको सुरक्षाका लागि भएको बताइएको छ भने यसलाई खतराको रुपमा समेत उल्लेख गरिएको छ।
भारतका टेलिकम अपरेटरहरुको समूह सेलुलर अपरेटर्स एसोसिएसन अफ इन्डिया (COAI) ले टेलिकम सचिव नीरज मित्तललाई पत्र लेखेर यी कम्पनीहरूले गैरकानूनी रूपमा ग्राहकहरूलाई अपडेटहरू पुर्याइरहेको आरोप लगाउँदै अमेजन, माइक्रोसफ्ट जस्ता टेक दिग्गजहरू विरुद्ध उजुरी दर्ता गरेको ईटीले संघले लेखेको अक्टोबर ३१ को पत्रलाई उदृत गर्दै रिपोर्ट गरेको छ।
उजुरी निवेदनकाअनुसार पहिले एसएमएसबाट आउने अपडेट अहिले ह्वाट्सएप र टेलिग्रामबाट पठाइँदैछ जुन गैरकानुनी तरिका हो। सेलुलर अपरेटर्स एसोसिएसन अफ इन्डिया एयरटेल, रिलायन्स जियो र भोडाफोन-आईडिया मिलेर बनेको छ।
यसका कारण सरकार र दूरसञ्चार सेवा प्रदायकलाई वर्षेनी करिब तीन हजार करोड भारतीय रुपैयाँ नोक्सान भइरहेको संघको भनाइ छ। यी कम्पनीहरूले कानुनी बाटो प्रयोग गरेर एसएमएस पठाउन बेवास्ता गरिरहेको संघले जनाएको छ। यो इजाजतपत्र र सुरक्षा नियमहरूको उल्लङ्घन हो, जसले सरकारी राजस्व गुमाउँछ। यसले राष्ट्रिय सुरक्षामा खतरा हुनसक्ने समेत बताएको छ।
रिपोर्टका अनुसार गत वर्ष अर्थात् २०२२-२०२३ मा यस्तो कमर्शियल एसएमएसबाट २५०० करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो। यदि कम्पनीहरूले व्हाट्सएप र टेलिग्राम मार्फत डेलिभरी अपडेट सन्देशहरू पठाउन थाले भने, टेलिकम अपरेटरहरूलाई ठूलो घाटा हुनेछ।
रिपोर्टकाअनुसार पत्रमा संघले ह्वाट्सएप र टेलिग्रामलाई व्यावसायिक सन्देश पठाउनका लागि अवैध प्लेटफर्म घोषणा गर्न माग गरेको छ। भारतमा यस्ता सन्देशका लागि भारु १३ पैसा शुल्क लाग्छ। जबकि ग्लोबल म्यासेजका लागि प्रति अलर्ट ४ देखि ४.५ भारतीय रुपैयाँ शुल्क लाग्छ। संघका अनुसार कम्पनीहरू यो लागतबाट बच्न चाहन्छन्।
प्रकाशित: २० कार्तिक २०८०, सोमबार