एचएमडी ग्लोबल आफ्नै ब्रान्डको दुई नयाँ स्मार्टफोनमा काम गर्दै

Technology Khabar २० कार्तिक २०८०, सोमबार

काठमाडौं ।

नोकिया स्मार्टफोन बनाउने कम्पनी एचएमडी ग्लोबलले सन् २०२४ मा आफ्नो ब्राण्डअन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्ने योजना बनाएको छ। एचएमडी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत जिन फ्रान्कोइस बारिलले सेप्टेम्बरमा पहिलो पटक ब्रान्डले आफ्नो स्मार्टफोन उत्पादन गर्ने घोषणा गरेका थिए।

हालै, आगामी एचएमडी स्मार्टफोनहरूको बारेमा थप विवरणहरू प्राप्त भएको छ। जीएसएम चाइनाको रिपोर्टका अनुसार एचएमडी ग्लोबलका दुई नयाँ स्मार्टफोनहरु हाल आन्तरिक परीक्षणको क्रममा छन् र जीएसएमए आईएमईआई डाटाबेसमा देखिएका छन्। यी स्मार्टफोनको मोडल नम्बर एन१५९भी र टीए–१५८५ रहेको छ।

टीए-१५८५ मोडेल एक रिब्रान्डेड नोकिया स्मार्टफोन हो जुन एचएमडी ब्रान्ड अन्तर्गत पुन लन्च गरिने विश्वास गरिएको छ। तथापि, दुवै मोडेलको टेक्निकल स्पेसिफिकेसन अझै अज्ञात छन्।

साथै एचएमडी ग्लोबलले पनि आधिकारी रुपमा नयाँ स्मार्टफोनको विवरण उपलब्ध गराएको छैन। यद्यपि कम्पनीको भारतीय उपाध्यक्ष रवि कुँबरले इकोनोमिटाइम्सलाई नयाँ ब्राण्ड २०२४ को पहिलो हाफमा डेब्यू गर्ने बताएका छन्। भारत कम्पनीको प्राथमिक बजार हुने पनि उनले बताए।

हाल आन्तरिक परीक्षणको क्रममा रहेका यी दुई स्मार्टफोन एचएमडी ब्राण्ड अन्तर्गत सार्वजनिक हुने पहिलो स्मार्टफोन हो वा होइनन् भन्ने स्पष्ट भइसकेको छैन।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया