घुँडामा चोट लागेपछि मेटाका मालिक मार्क जुकरबर्गको शल्यक्रिया

Technology Khabar १९ कार्तिक २०८०, आईतवार

काठमाडौं ।

मेटाका संस्थापक मार्क जुकरबर्गलाई मार्शल आर्ट सेशनको समयमा घुँडामा चोट लागेपछि शल्य चिकित्सा गरिएको छ। जसले गर्दा यसअघि चर्चामा आएको इलन मस्क र मार्क जुकरबर्ग बीच हुने भनिएको मार्शल आर्ट फाइट ढिलो हुनसक्छ।

जुकरबर्गले इन्स्टाग्राममा पोष्ट गर्दै भने, “मेरो एसीएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट) च्यातियो र यसलाई प्रतिस्थापन गर्न भर्खरै शल्यक्रिया गरिएको थियो।”

उनी आफ्नो अर्को प्रतिस्पर्धात्मक मिश्रित मार्शल आर्ट (एमएमए) खेलको लागि तालिम लिइरहेका थिए।

“म अर्को वर्षको सुरुमा प्रतिस्पर्धात्मक एमएमए लडाईको लागि प्रशिक्षण गरिरहेको थिएँ, तर अब यो अलि ढिलो हुने भएको छ,” मेटा सीईओले शुक्रबार भने, “म निको भएपछि अझै यो गर्न पर्खिरहेको छु। माया र साथको लागि सबैलाई धन्यवाद।”

उनका फलोअरहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यस्तो चोटबाट निको हुन व्यावसायिक खेलाडीलाई करिब एक वर्ष लाग्ने गर्छ।

गत महिना, जुकरबर्गले इन्स्टाग्राममा एउटा सेल्फी पोस्ट गरे जसमा उनको अनुहार सुन्निएको र उनको आँखा र नाकमा धेरै चोटपटक लागेको देखिएको थियो।

मेटाका सीईओले लडाइँमा सामान्य प्रशिक्षण विधि नियन्त्रण बाहिर हुँदा यो भएको बताए।

उनले भने, “प्रतियोगिता अलिकति नियन्त्रण बाहिर भएको छ। मेरो अवतार अपडेट गर्नुपर्ने हुन सक्छ।”

जुकरबर्ग लामो समयदेखि एमएमए र जीउ-जीत्सु जस्ता लडाई खेलहरूमा संलग्न छन्। एक्सका मालिक मस्कले उनलाई चुनौती दिएपछि उनी थप सक्रिय देखिएका छन्।

अगस्टमा, मस्कले भने जुकरबर्गसँगको लडाई इटालीको एक पुरातात्विक स्थानमा हुनेछ र प्रत्यक्ष प्रसारण हुनेछ।

भर्खरै, जुकरबर्गलाई ब्राजिलियन जिउ-जित्सुमा उनका प्रशिक्षक प्रोफेसर डेभ क्यामारिलोले धेरै वर्षको प्रशिक्षण पछि ब्लु बेल्ट प्रदान गरेका थिए।

प्रकाशित: १९ कार्तिक २०८०, आईतवार

तपाइको प्रतिक्रिया