सुस्त ईभी मागको बीचमा फक्सवागनको चौथो ब्याट्री कारखाना निर्माणमा ढिलाई

Technology Khabar १९ कार्तिक २०८०, आईतवार

काठमाडौं ।

फक्सवागन समूहले युरोपमा इलेक्ट्रिक भेहिकल्स (ईभी) को अपेक्षाभन्दा कम मागलाई उद्धृत गर्दै चौथो ब्याट्री सेल कारखानाको निर्णयमा ढिलाइ गर्ने निर्णय गरेको छ।

सीईओ ओलिभर ब्लुमले युरोपमा ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) बजारको सुस्त वृद्धिलाई ध्यानमा राख्दै थप स्थानहरूमा निर्णय गरेर अगाडि बढ्नुको लागि हाल कुनै उचित व्यापारिक कारण नभएको भन्दै व्यक्त गरेका छन्।

यसअघि, कम्पनीले चेक गणतन्त्र, हंगेरी, पोल्याण्ड र स्लोभाकियामा सम्भावित साइटहरूको सम्बन्धमा आफ्नो निर्णय प्रक्रियालाई रोकेको थियो। निर्णय एक वर्षको लागि स्थगित गरिएको थियो भने यस वर्षको सुरुवातमा स्थान छनोट गर्न कुनै हतार नगरिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

त्यसैगरी ब्लुम र चेक अधिकारीहरू बीचको भर्खरको बैठकले पनि कुनै प्रगति नगरेको जनाइएको छ। चेक रिपब्लिकले ब्याट्री गीगाफ्याक्ट्रीको लागि साइट प्रस्ताव गरेको भएतापनि फक्सवागनको निर्णयमा भएको ढिलासुस्तीले गर्दा देशका प्रधानमन्त्री पेटर फियालाले अब उनीहरूले पर्खन नसक्ने घोषणा गरेका छन्। साथै प्रस्तावित साइट अब अन्य सम्भावित लगानीकर्ताहरूलाई प्रस्ताव गरिने उल्लेख गरिएको छ।

फक्सवागनको यो कदम यसको पावर कम्पनी ब्याट्री सब्सिडरीमार्फत सन् २०३० सम्ममा युरोपमा ६ ओटा ब्याट्री गिगाफ्याक्ट्रीहरु खोल्ने प्रारम्भिक योजनाको विपरीत भएको उल्लेख गरिएको छ। यी गिगाफ्याक्ट्रीहरूका लागि पहिले नै चयन गरिएका स्थानहरूमा साल्जगिटर-जर्मनी, भ्यालेन्सिया-स्पेन र सेन्ट थमस-ओन्टारियो, क्यानडा हुन्। साथै साल्जगिटर र भ्यालेन्सिया साइटहरू क्रमशः सन् २०२५ र सन् २०२६ मा सञ्चालन हुने अपेक्षा गरिएको र ओन्टारियो साइट सन् २०२७ मा खुल्ने अनुमान गरिएको उल्लेख छ।

चाखलाग्दो कुरा के छ भने युरोप फक्सवागनको सबैभन्दा ठूलो ईभी बजार भएको र यसले कम्पनीको विश्वव्यापी ईभी बिक्रीको ६० प्रतिशत भन्दा बढी योगदान पुर्याएको जनाइएको छ। यद्यपि, युरोपमा कम्पनीको ईभी अर्डरहरूमा उल्लेखनीय गिरावट आएको र सीएफओ अर्नो एन्टलिट्जले गत वर्ष ३००,००० बाट यस वर्ष १५०,००० मा ५० प्रतिशत गिरावटको खुलासा गरेको छ।

ईभी–सम्बन्धित योजनाहरू स्थगित गर्ने निर्णयमा फक्सवागन मात्र एक्लो होईन्। फोर्ड र जनरल मोटर्सलगायत धेरै विश्वव्यापी अटोमेकरहरूले पनि आफ्नो ईभी ब्याट्री उत्पादन र मोडल लन्चमा ढिलाइ गरेका छन्।

प्रकाशित: १९ कार्तिक २०८०, आईतवार

तपाइको प्रतिक्रिया