Technology Khabar १६ कार्तिक २०८०, बिहीबार
काठमाडौं ।
वारेन बफेटको स्वामित्वमा रहेको बर्कशायर ह्याथवेले गत हप्ता थप २५.७८ मिलियन अमेरिकी डलर बराबरको बीवाईडीको शेयर बेचेको छ। कम्पनीले २०२२ यता चिनियाँ विद्युतीय सवारी निर्मातामा आफ्नो कुल हिस्सेदारी ६१ प्रतिशत भन्दा बढी घटाएको छ।
इन्भेस्टमेन्ट ग्रुपले हङकङ स्टकमा सूचीबद्ध बीवाईडीको ८ लाख २० हजार ५०० कित्ता सेयर बिक्री गरेको एक्सचेञ्ज फाइलिङमा देखिएको एशियनफाइनान्सले उल्लेख गरेको छ। ग्रुपले २०१.१७ मिलियन हङकङ डलर बराबरको सेयर बेचेको हो।
२५ अक्टोबरको बिक्री पछि बीवाईको हङकङ स्टकमा बर्कशायरको लगानी ८.०५ प्रतिशतबाट घटेर ७.९८ प्रतिशत भएको छ। बर्कशायरले अगष्ट २०२२ मा सेयर बिक्री गर्न अघि बीवाईडीमा २०.४९ प्रतिशत लगानी रहेको थियो।
लगानी समूहले विभिन्न चरणमा बीवाईडीको सेयर बिक्री गरेको छ। हालसम्मको सबैभन्दा ठूलो बिक्री नोभम्बर २०२२ मा १४५.३८ मिलियन अमेरिकी डलर मूल्यको सेयर रहेको छ।
बीवाईडीमा बर्कशायरको पछिल्लो सेयर बिक्री यस हप्ता कार निर्माताको वित्तीय विवरण सार्वजनिक भए पछि आएको छ। कम्पनीको २०२३ को तेस्रो त्रैमासिक वित्तीय विरणमा हालसम्मको सबैभन्दा धेरै त्रैमासिक नाफा १.४२ बिलियन अमेरिकी डलर देखिएको थियो।
यसले बढ्दो घरेलु प्रतिस्पर्धा र ईभीको विश्वव्यापी घट्दो मागका बावजुद विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक वाहन बजारमा बीवाईको निरन्तर प्रभुत्वलाई दर्शाउँछ। बीवाईले पछिल्लो समय आक्रमक रुपमा युरोप र जापान पनि आफ्नो व्यावसाय विस्तार गरिरहेको छ।
प्रकाशित: १६ कार्तिक २०८०, बिहीबार