Technology Khabar १२ कार्तिक २०८०, आईतवार
काठमाडौं ।
भुक्तानी सेवा प्रदायक इसेवको आधिकारिक कर्मचारी भन्दै ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई १८ जनाबाट १५ लाख २० हजार ९०० रुर्पयाँ बराबरको धनमाल ठगी गरेको अभियोगमा रौतहटका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका वडा नं. ५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन्।
उनीहरूले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी इसेवाको आधिकारिक कर्मचारी बताउँदै ठगी गरेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुले इसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नविकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिभिकेसन, सेक्यूर ट्रान्सफर चार्ज नलाग्न, ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराईदिन्छु भनेर विश्वास दिलाई झुक्यानमा पारी ठगी गरेका थिए। सोही अभियोगमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरेको हो।
उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ।
प्रकाशित: १२ कार्तिक २०८०, आईतवार