
काठमाडौं ।
सरकारले सङ्घीय संसदलाई चीन सरकारले अनुदान सहयतास्वरुप प्रदान गरेको बीवाईडीका गाडीहरुको सम्पूर्ण राजस्व छुट गरेको छ।
यसअघिनै उक्त इलेक्ट्रिक भेहिकलहरु नेपालमा आईसकेका र प्रयोगमा रहेका छन्।
एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो।
जसअनुसार बीवाईडी व्राण्डका पाँच थान इलेक्ट्रिक कार र तीन थान एसयूभी जीप उपलब्ध भएका थिए।
सम्बन्धित समाचार-
सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा बीवाइडीका ८ इलेक्ट्रिक भेहिकल सहयोग
हाल सरकारले उक्त गाडीहरु आयात गर्दा लाग्ने सबै शुल्कहरु छुट दिने निर्णय गरेको हो।
हालै राजपत्रमा प्रकाशित सूचनाअनुसार अर्थ मन्त्रालयले आर्थिक ऐन, २०७९ को दफा १८ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चीन सरकारले नेपालको सङ्घीय संसदलाई अनुदान सहायतास्वरुप प्रदान गर्ने बीवाईडी व्राण्डका आठ थान इलेक्ट्रिक सवारीहरुमध्ये तीन थान एसयूभी जीपको मूल्य एक लाख सत्ताइस हजार दुई सय उनान्तीस डलर एकसठ्ठी सेन्ट र पाँचओटा कारको मूल्य एक लाख बाउन्न हजार एक सय अमेरिकी डलर गरी जम्मा दुई लाख उनासी हजार तीस सय उनान्तीस डलर एकसठ्ठी सेन्ट अर्थात करिब ३ करोड ६८ लाख ७१ हजार रुपैयाँ मूल्य बराबरको आठ थान सवारी साधन पैठारी गर्दा लाग्ने सम्पूर्ण कर, शुल्क तथा महसुल छुट दिने निर्णय गरेको हो।
उक्त निर्णय गत असार २० गते नै गरिएको भएपनि हालै कात्तिक २ गते मात्र उक्त सूचना राजपत्रमा प्रकाशित गरिएको छ।
यसअघिनै करिब तीन करोड रुपैयाँ बराबरका ती सवारीसाधन चीनले असार महिनामा नै संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको समाचार सार्वजनिक भएको थियो।
नेपालमा बीवाईडीको इभीहरु आयात तथा बिक्री गर्ने कम्पनी भएपनि चीन सरकारले उक्त बीवाईडी गाडीहरु सिधै नेपाल सरकारलाई अनुदान सहायतास्वरुप दिएको हो।
प्रकाशित: १२ कार्तिक २०८०, आईतवार