आज राती हुँदैछ खण्डग्रास चन्द्र ग्रहण, यस्तो छ खगोलिय पाटो

  • Technology Khabar | ११ कार्तिक २०८०, शनिबार
आज राती हुँदैछ खण्डग्रास चन्द्र ग्रहण, यस्तो छ खगोलिय पाटो

काठमाडौं ।

आज कार्तिक ११ गते कोजाग्रत पूर्णिमाको दिन राती खण्डग्रास चन्द्रग्रहण लाग्ने ज्योतिषीहरूले बताएका छन्। विश्वका विभिन्न मुलुकबाट देखिने यो ग्रहण नेपालबाट पनि स्पष्ट देखिनेछ।

खण्डग्रास चन्द्रग्रहण रातको १ बजेर १९ मिनेटबाट सुरु हुने यस ग्रहण १ बजेर ५९ मिनेट सम्म रहनेछ भने यस ग्रहणको मोक्ष २ बजेर ३८ मिनेटमा रहनेछ। एक घण्टा १९ मिनेट यस ग्रहणको अवधि रहनेछ।

अश्विनी नक्षत्रमा मेष राशीमा यस ग्रहण निहित रहेको ज्योतिषीहरुले बताएका छन्।

सामान्यतया चन्द्र ग्रहण पूर्णिमाकै दिनमा पर्ने गर्दछ।

ज्योतिषीय मान्यताअनुसार चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुन्छ। यस पछि कुनै पनि शुभ कार्य नगर्न सल्लाह दिइएको पाइन्छ।

के हो चन्द्र ग्रहण ?

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ।

चन्द्र ग्रहण हुनु एउटा वैज्ञानिक कारण पनि हो। वैज्ञानिहरुका अनुसार, ग्रहण एउटा सामान्य खगोलीय घटना मात्र हो । यो एउटा चन्द्रमाको सामान्य परिक्रमा चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ। यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ। यस क्रममा पृथ्वीको छायाँ चन्द्रमामा देखिन्छ, र चन्द्रमा नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिने हुँदा यसलाई चन्द्र ग्रहण भनिन्छ।

खग्रास र खण्डग्रास चन्द्र ग्रहणबीच फरक

ग्रहणको समयमा आंशिक छायाँ भएमा खण्डग्रास र पूर्ण छायाँ भएमा खग्रास चन्द्र ग्रहण भएको भनिन्छ। अर्थात चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ।

प्रकाशित: ११ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...