
काठमाडौं ।
भारतमा इन्डिया मोबाइल कंग्रेस (आईएमसी) को सातौं संस्करण आजदेखि शुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको प्रगति मैदानमा सो सम्मेलन उद्घाटन गरेका छन्। तीन दिनसम्म चल्ने यस इभेन्टमा मोबाइल प्रविधिसँग सम्बन्धित कम्पनीहरुको सहभागिता रहेको छ।
गत वर्ष इन्डिया मोबाइल कंग्रेसमा प्रधानमन्त्री मोदीले ५जी सेवा सुरु गरेका थिए । यस वर्ष आईएमसी २०२३ मा, भारतीय प्रधानमन्त्री मोदीले सिक्सजीको बारेमा ठूलो कुरा भनेका छन्।
साथै, उनले देशको दूरसंचार पूर्वाधार, स्टार्ट-अप कम्पनीहरू र मेक इन्डियाको बारेमा ठूला कुराहरू भनेका छन्।
आईएमसी २०२३ मा भारतीय प्रधानमन्त्री मोदीले देशका कलेजहरू र शैक्षिक संस्थानहरूमा १०० ओटा फाइभजी ल्याबहरूको उद्घाटन गरेका छन्।
उनले देशको औसत ब्रोडब्यान्ड इन्टरनेट स्पीड पहिलेको तुलनामा तीन गुणाले बढेको र भारत पहिले ग्लोबल इन्टरनेट स्पीडको हिसाबले ११८ औं स्थानमा थियो, ५जीको रोल आउट पछि, भारत शीर्ष ४० देशहरूमा सामेल भएको बताए।
“सरकारले प्रविधिलाई जनताको पहुँचमा सहज बनाउने प्रयास गरिरहेको छ। भारतमा स्टार्ट-अप इकोसिस्टम पहिले भन्दा राम्रो भएको छ। हामी हाल विश्वको शीर्ष-३ स्टार्ट-अप इकोसिस्टममा समावेश छौं,” भारतीय प्रधानमन्त्रीले भने, “गुगल, सामसङ, एप्पल जस्ता कम्पनीहरुले आफ्नो स्मार्टफोन भारतमा बनाइरहेका छन् । सन् २०१४ मा भारतमा मोबाइल आयात गरिएको थियो। अहिले हामी २ लाख करोडको इलेक्ट्रोनिक वस्तु निर्यात गर्दैछौँ।”
उनकाअनुसार फाइभजी सुरु भएको एक वर्षमै देशका ४ लाख बेस स्टेसन, ८० प्रतिशत जनसङ्ख्या र ९७ प्रतिशत प्रयोगकर्ताले फाइभजी सेवा उपभोग गरिरहेका छन्।
प्रकाशित: १० कार्तिक २०८०, शुक्रबार