
काठमाडौं ।
राइड सेयरिङ र हेलिङ बिधामा स्थापित कम्पनी पठाओले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरि नयाँ लोगो सार्वजनिक गरेको छ।
नयाँ लोगोमा नगवेली बाटो र सडक थिममा पठाओको पहिलो अङ्ग्रेजी अक्षर ‘पि’ लेखिएको छ। पहिलेको लोगोले राइड सेयरिङको अर्थ दिन्थ्यो भने नयाँ लोगोले समस्यादेखि समाधानको बाटोको अर्थ दिएको र यसले सबै सेवाहरुलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए।
झोला बोकेर दुईपाङ्ग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भइ नयाँ लोगो सार्वजनिक भएको हो।
नेपालमा ५ बर्षमा ६ ओटा (पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठाओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवाहरु प्रदान गरिरहेको पठाओ आगामी दिनमा सेवा थप्दै सुपर एप बन्ने योजनामा रहेको बस्न्यात बताउँछन्।
केही समय अगाडि काठमाडौँ उपत्यकामा सुरु भएको ‘पठाओ पार्सल’लाई देशब्यापी बनाउने र डिजिटल बालेट ‘पठाओ पे’ समेत सुरु गरिने यस अगाडि नै पठाओ नेपालले जानकारी गराइसकेको छ। लोगो परिवर्तनले सेवाग्राहीमा नयाँपनको आभास गराउने बस्न्यात बताउँछन्।
पठाओको नयाँ लोगो विश्वब्यापी रुपमा अक्टोबर २५ देखि लागू भैसकेको बताइएको छ।
प्रकाशित: ८ कार्तिक २०८०, बुधबार