
काठमाडौं ।
ह्वावे मेट ६० सिरिजले आफ्नो फिचर्स र मूल्यको कारणले गर्दा स्मार्टफोन बजारमा तरंग मच्चाइरहेको छ। उक्त सिरिजामा रहेका चार मोडलहरूमध्ये ह्वावे मेट ६० प्रो सबैभन्दा उत्कृष्ट रहेको जनाइर्एको छ।
गत अगस्टमा सार्वजनिक यो फोन चिनियाँ बजारमा हटकेकजस्तै बिक्री हुँदै आएको र यसलाई किन्न चाहनेहरूलाई स्टकमा फेला पार्न पनि समस्या भइरहेको बताईएको छ। साथै, झण्डै दुई महिना बितिसक्दा पनि मागमा कुनै कमि नआएको उल्लेख छ।
रिसर्च फर्म काउन्टरपोइन्टकाअनुसार ह्वावेले विगत ६ हप्तामा लाखौं मोडलहरू बिक्री गरेको र त्यसमध्ये एक तिहाइ बिक्री गत हप्ता मात्रै भएको छ।
ह्वावे मेट ६० प्रोले चीनमा १० प्रतिशतले आईफोन १५ प्रो म्याक्सलाई आउटसेल गर्यो
काउन्टरपोइन्टका अनुसार ह्वावेले मात्र ६ हप्तामा मेट ६० प्रो को १६ लाख युनिट्स बिक्री गरेको छ। तीमध्ये, गत दुई हप्तामा मात्र ४००,००० युनिट्स बिक्री भएको उल्लेख गरिएको छ।
साथै ६ हप्तामा १.६ मिलियन युनिट्स बिक्री गर्नु भनेको एक प्रभावशाली उपलब्धि भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
यद्यपि, मेट ६० प्रोको आपूर्ति अझै पनि कम रहेको छ। यदि आपूर्तिमा सुधार गरिएको थियो भने बिक्री पनि सम्भावित रूपमा अझ बढी हुन सक्ने अनुमान गरिएको छ।
विशेष गरी आईफोन १५ सिरिजले चीन र संसारका अन्य भागमा निराश बनाएको हुनाले ह्वावे भाग्यशाली रहेको भनेर रिपोर्टमा बताईएको छ।
आईफोन १५ सिरिजले नवीनता र डिजाइनको सन्दर्भमा प्रयोगकर्ताहरूलाई उत्साहित गर्न असफल भएको र आईफोन १४ सिरिज भन्दा फरक महसुस नगरिएको उल्लेख छ। अर्कोतर्फ, मेट ६० सिरिजले ठीक उल्टो सकारात्मक प्रभाव सिर्जना गरेको छ।
चीनमा आईफोन १५ सिरिजको समग्र बिक्री सोही अवधिमा आईफोन १४ सिरिजको तुलनामा ४.५ प्रतिशतले घटेको छ। प्रो म्याक्सले सबैभन्दा ठूलो गिरावट देखेको र १४ प्रतिशत बिक्री घटेको रिपोर्टमा भनिएको छ। त्यसैगरी प्रोको बिक्री पनि ११ प्रतिशतले तल झरेको उल्लेख गरिएको छ।
प्रकाशित: ७ कार्तिक २०८०, मंगलवार