Technology Khabar ५ कार्तिक २०८०, आईतवार
काठमाडौं ।
– दिपेन्द्र खनाल
यसपटक माेबाइल बजारमा दशैँकाे राैनक देखिएकाे छैन। हरेक वर्ष दशैँकाे समयमा माेबाइल फाेनकाे बजार उत्साहजनक रहने भएपनि यस वर्ष भने दशैँमा माेबाइल बजार गुल्जार बन्न सकेकाे छैन।
यस बर्षकाे दशैँमा अन्य वर्षका दशैँहरुकाे तुलनामा स्मार्टफोनको बिक्री घटेकाे पाइएकाे छ।
दशैँमा स्मार्टफोनको बिक्री घट्नुमा आर्थिक मन्दी कारण रहेकाे अधिकांश न्युरोडका मोबाइल ब्यावसायीहरू बताउँछन्।
ताम्राकार कम्प्लेक्स, न्युरोडका मोबाइल ब्यावसायी लक्ष्मण महर्जनका अनुसार, स्मार्टफोनको बिक्री पहिलेको तुलनामा निकै कम छ। उनकाअनुसार अन्य समयकाे तुलनामा दशैँमा प्रतिदिन १०-१५ यूनिट अधिक बिक्री हुने गरेकोमा स्मार्टफोनको बिक्री हालका दिनहरुमा सामान्य दिनको जति पनि छैन।
त्यस्तै, उनकाअनुसार यसअघिका वर्षहरुमा ५० हजारदेखि ६० हजार मूल्य रेन्जका स्मार्टफोनहरु बिक्री हुने गरेका थिए। हाल भने बढीमा ४० हजार रेन्जका स्मार्टफोन मात्रै बिक्री हुने गरेको छ।
महर्जनका अनुसार हाल १५ हजार देखि २५ हजार रेन्ज सम्मका स्मार्टफोनहरु अधिक बिक्री हुने गर्छन्। यसको कारण आर्थिक मन्दी रहेको महर्जन बताउँछन्।
त्यस्तै, सेल्फोन रेस्क्यू सेन्टर, न्यूरोडका अर्का मोबाइल ब्यबसायी रबीन डाँगी पनि स्मार्टफोनको बिक्री पहिलेको तुलनामा निकै कम रहेको बताउँछन्।
अन्य दिनहरुमा कम्तिमा २०-२५ युनिट एन्ड्रोइड फोन बिक्री हुने गरेकामा हाल दिनभरमा ४-५ युनिट मात्रै बिक्री हुने गरेको उनी बताउँछन्। उनका अनुसार आर्थिक मन्दी बाहेक युवा पुस्ता ‘आईफोन’मा आकर्षित हुनु पनि अन्य एन्ड्रोइड फोन बिक्रीमा कमी आउनुको कारण हो।
यसैगरी न्युरोडस्थित फोर्टिन जी मोबाइल शप संचालन गर्ने मोबाइल ब्यावसायी सुशान्त निरौला पहिले भ्याइनभ्याइ हुने गरेकाे स्मार्टफोनको बिक्री हाल आधा घटेको बताउँछन्।
उनका अनुसार पहिलेका दशैँहरुमा प्रतिदिन ५० यूनीटसम्म बिक्री हुने गरेकाे थियाे। याे दशैँमा भने १० यूनीट मात्रै स्मार्टफोन बिक्री हुने गरेकाे बताउँछन्। त्यस्तै, हाल बढीमा १५ हजार देखि ३० हजार रेन्जसम्मका स्मार्टफोनहरु अधिक बिक्री हुने गरेकाे उनकाे भनाइ छ।

त्यस्तै, अर्का न्यूराेडकै मोबाइल ब्यावसायी वर्षाद कार्कीकाे माेबाइल शप ‘शुभ सेन्ट्रल’ मा रेड्मी र सामसङ अधिक बिक्री हुन्छन्। कार्कीकाअनुसार आर्थिक मन्दीका कारण याे दशैँमा सामान्य बिक्री हुने गरेकाे छ। पसलबाट २५ हजार रेन्ज भन्दा कमका स्मार्टफाेनहरु बढी बिक्री हुने गरेका उनी बताउँछन्।
न्यूराेडकै अर्का मोबाइल ब्यबसायी भुवन ढकाल ४० हजार भन्दा माथिका रेन्जका स्मार्टफाेनहरु समग्रमा केबल १० प्रतिशत मात्रै बिक्री भएकाे बताउँछन्। उनका अनुसार आर्थिक मन्दीले याे दशैँमा प्रिमियम स्मार्टफाेनहरु कम बिक्री भएका छन्।
उनकाे माेबाइल शपमा १५ हजारदेखि ३० हजार रेन्जसम्मका स्मार्टफाेनहरु अधिक बिक्री भएकाे बताउँछन्।
याे दशैँमा पहिलेकाे तुलनामा ३० प्रतिशत देखि ४० प्रतिशत कम स्मार्टफाेन बिक्री भएकाे ढकालकाे भनाइ छ।
प्रकाशित: ५ कार्तिक २०८०, आईतवार