स्मार्ट विद्युत् मिटर जडानलाई तीव्र बनाउँदै प्राधिकरण

Technology Khabar ३ कार्तिक २०८०, शुक्रबार

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले थ्री फेज मिटर जडान गरिएका ग्राहकको स्मार्ट विद्युत् मिटर बक्स जडानको कामलाई तीव्र बनाएको छ। विद्युत् चुहावट नियन्त्रण गर्ने र प्राधिकरणलाई अनलाइन प्रणालीमा ल्याउने उद्देश्यका साथ मिटरबक्स परिवर्तन गरिएको हो।

केन्द्रका इन्जिनियर रुद्रराज विष्टका अनुसार स्मार्ट ग्रीड एण्ड मिटरिङ आयोजनाले थ्री फेज लाइन जडान भएका स्थानमा स्मार्ट मिटरबक्स जडानको काम गरेको हो।

यस वर्ष पाँच सयवटा मिटर परिवर्तन गरिसकिएको छ । योसँगै दुई हजार एक सयवटा स्मार्ट मिटरबक्स जडान गरिएको हो। मिटरबक्समा डाटा सञ्चालनका लागि सिमकार्डको प्रयोग गरिन्छ। यसले मिटर रिडिङ गर्न सहज बनाउने उनले बताए।

औद्योगिक क्षेत्र र थ्री फेज लाइन जडान गरिएका ग्राहककामा मिटरबक्स परिवर्तन गर्न लागिएको हो।

कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जिल्लामा थ्री फेज मिटर जडान गरेका चार हजार स्थानमा यो मिटरबक्स प्रयोग गरिने बताए। उनले भने, “लाइन काट्न र जडान गर्न सहज हुनेछ। मनिटरिङको काम कार्यालयबाटै गर्न सकिने छ।”

विसं २०७८ देखि जडानको काम सुरु गरेको भएपनि अहिले यसलाई प्रभावकारीरूपमा अघि बढाइएको उनले जानकारी दिए। मिटर रिड आवश्यक नपर्ने हुँदा खर्चसमेत कम हुने उनले बताए।

स्मार्ट मिटर जडान गरिएको ठाउँमा एसएमएसमार्फत विद्युत् महसुलको बिल पठाउने व्यवस्थासमेत गरिएको छ। प्राधिकरणलाई अनलाइन प्रक्रियामा ल्याउनका लागि यो बक्स जडान गरिएको उनले जानकारी दिए।

उपभोक्ताले विद्युत्को महसुल तिरे÷नतिरेको समेत कार्यालयमै बसेर हेर्न मिल्ने उनले बताए। विद्युत् खपतको वास्तविकतासमेत हेर्न सकिने गरी यो बक्स जडान गरिएको हो । उनले भने, “उपभोक्ताले मिटर हेरेर जानकारी लिन सक्छन् ।” रासस

प्रकाशित: ३ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया