काठमाडौं ।
नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ। एक वर्षको अवधिमा नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी दुई गुणा भन्दा बढीले बढेको देखिन्छ।
नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० भदौको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर मार्फत ३० अर्ब ५६ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ।
गत वर्षको भदौमा क्यूआर कोड मार्फत १५ अर्ब २ करोड ८० लाख रुपैयाँ भुक्तानी भएको थियो। गत वर्षको तुलनामा चालु वर्षको सोही अवधिमा क्यूआर कोड मार्फत हुने भुक्तानी १५ अर्ब ५३ करोड ६० लाख रुपैयाँ अर्थात १०३.३८ प्रतिशतले बढेको छ।
भुक्तानी जस्तै क्यूआर कोड मार्फत हुने कारोबार संख्या पनि दुई गुणा भन्दा बढीले बढेको छ। गत वर्षको भदौमा क्यूआर कोड मार्फत ५२ लाख ८ हजार ८०४ पटक कारोबार भएकोमा यो वर्षको सोही अवधिमा १ करोड १२ लाख ५७ हजार ३८८ पटक करोबार भएको छ।
२०७७ पुष १० गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काठमाडौंको नक्सालस्थित नक्साल तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरेका थिए। तत्कालिन समयमा उनले क्यूआर कोडमार्फत भूक्तानीको शुभारम्भ गर्दै नगदरहित कारोबारलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकले नीति अगाडि बढाएकाले यसलाई बढवा दिनु पर्ने आवश्यकता औल्याउँदै यो अभियानलाई देशैभर पुर्याइने बताएका थिए।
नेपाल राष्ट्र बैंकले नै डिजिटल भूक्तानीलाई प्रवर्धन गरेसँग यसको विकास पनि बढ्दो छ। अहिले तरकारी पसल, चिया पसल, सपिङ महल लगायत कारोबार हुने अधिकतम स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिन्छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि ती स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएका छन्। साथै नगद बोकेर हिड्नु भन्दा पनि मोबाइलबाटै सहज रुपमा भुक्तानी गर्न सकिने भएकाले पनि क्यूआर कोडको प्रयोग बढ्दो क्रममा देखिन्छ।
प्रकाशित: ३ कार्तिक २०८०, शुक्रबार