
काठमाडौं ।
जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स (जीएम) ले सन् २०२६ मा टोक्योमा चालकरहित ट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको बिहीबार घोषणा गरेका छन्। यसले वृद्धहरूको सङ्ख्या बढी भएको जापानमा श्रम अभावको समाधानमा सहयोग गर्ने बताइएको छ।
होन्डाले विज्ञप्तिमार्फत सान फ्रान्सिस्कोमा रहेको सेल्फ ड्राइभिङ कार अपरेटर क्रुजद्वारा सहविकास गरिएको यो परियोजनाले जापानमा नयाँ प्रकारको गतिशीलताको अनुभव प्रदान गर्ने बताएको छ।
“यो एउटा उन्नत गतिशील समाज प्राप्तितर्फ एउटा मुख्य कदम हुनेछ”, होन्डाका प्रमुख कार्यकारी तोसिहिरो मिबेले भने।
यो परियोजनाले ट्याक्सी र बस ड्राइभरको कमीजस्ता जापानले भोगिरहेको सामाजिक मुद्दालाई पनि सम्बोधन गर्न सहयोग गर्ने लक्ष्य लिएको होन्डाले जनाएको छ।
तीव्ररूपमा वृद्धहरूको बढिरहेको जनसङ्ख्या र श्रमको कमीसँग लगातार सङ्घर्ष गरिरहेको जापान सरकारले स्वायत्त सवारीलाई प्रश्रय दिँदै आएको छ।
सन् २०२० मा केही परिस्थितिमा पूर्ण नियन्त्रण गर्न सकिने सक्षम सवारी साधनहरूलाई सार्वजनिक सडकमा चलाउन अनुमति दिने मुलुकमा जापान पहिलो बनेको थियो । टोयोटा र निसानजस्ता सवारी साधन निर्माता कम्पनीले पनि स्वचालक बस तथा ट्याक्सीको परीक्षण गरिरहेका छन् ।रासस
प्रकाशित: २ कार्तिक २०८०, बिहीबार