Technology Khabar २ कार्तिक २०८०, बिहीबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणको स्वतन्त्र कर्मचारी यूनियनले संस्थाका लेखा प्रमुखले दिएको राजीनामाको विषयमा प्राधिकरण अध्यक्षलाई गंभीर ध्यानाकर्षण गराएको छ।
कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले बुधबार अध्यक्ष पुरुषोत्तम खनाललाई पत्र बुझाउँदै विगत केहि महिनादेखि निरन्तररुपमा प्राधिकरण लक्षित आम सञ्चारमा आएका त्यस्ता समाचारहरूको खण्डन गर्नु र व्यवस्थापकीय कमजोरी सुधार गर्नुको सट्टा प्राधिकरणमा कार्यरत कर्मचारीहरूको सकारात्मक मनोबल गिराउने, आत्मबल हतोत्साहित पार्ने, अनुचित दबाब दिई जागिरबाट नै राजिनामा दिन बाध्य पार्ने अवस्था सिर्जित भएको वर्तमान परिवेशप्रति युनियनको गम्भिर र अक्षम्य ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
यूनियनले यहि असोज ३० गते प्राधिकरणमा आर्थिक प्रशासन शाखा प्रमुखको रूपमा कार्यरत उपनिर्देशक सुरेश बस्नेतको राजीनामाको बारेमा स्पष्ट जानकारी गराउन मागसमेत गरेको छ। यसका साथै पत्रमा बस्नेतलाई राजीनामाका लागि दबाब दिने र प्राधिकरणका काबिल तथा अनुभवी कर्मचारीलाई दवाव दिई भुक्तानी गर्न लगाउने अधिकारीको बारेमा उच्चस्तरिय छानबिन टोली गठन गरी छानबिन गर्न समेत माग गरेको छ।
यसका साथै उक्त विषयमा संचारमाध्यममा आएका समाचारहरुको बारेमा समेत प्राधिकरणको स्पष्ट धारणा हुनुपर्नेमा जोड दिएको छ।
“नेपाल दूरसञ्चार प्राधिकरण बोर्डवाट आ.व. २०८०/८१ को बार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गर्दा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एम.डी.एम.एस) को सम्वन्धमा प्राधिकरणको मिति २०८०/०६/२२ को बैठकको निर्णय नं ५०९९ को स्वीकृत १६ बुँदे निर्देशनको बुंदा नं. १४ मा निर्देशनात्मक रूपमा भुक्तानी नगर्ने निर्णय भएकोमा सोको बर्खिलाप हुने गरी कुन पदीय अख्तियारीबाट तथा नियतबाट प्राधिकरणका काबिल तथा अनुभवी कर्मचारीलाई दवाव दिई भुक्तानी गर्नु हुन अन्यथा भुक्तानी नभएमा र सामान जफत भए त्यसको जिम्मेवारी लेखा प्रमुख नै हुने चेतावनी सहितको दवाव दिने अधिकार प्राप्त भयो ? सो बिषयमा उच्चस्तरीय छानविन टोली गठन गरी सत्य तथ्य सहितको वास्तविकता बाहिर ल्याई त्यस्ता अनुचित दबाब दिने कार्यमा संलग्न रहेको पाइएमा त्यस्ता कर्मचारी तथा पदाधिकारीलाई तुरुन्तै कारवाहीको प्रक्रिया अगाडी बढाउनको लागि यस युनियन जोडदार माग गर्दछ,” ध्यानाकर्षण पत्रमा भनिएको छ।
अध्यक्षलाई कात्तिक १ गते बुधबार बुझाएको ध्यानाकर्षण पत्रमा प्राधिकरणको स्थापनाकाल देखिनै अनवरत रुपमा मर्यादित, कर्तव्यनिष्ठ भई सेवामा समर्पित कर्मचारी उपनिर्देशक बस्नेतलाई अनुचित दबाब दिई राजिनामा दिन बाध्य पारिएको भनि सञ्चार माध्यममावाट बुझिन आएको भन्दै उनले दिएको राजिनामा स्वीकृत नगरी तत्काल उनलाई पुनः प्राधिकरणको दैनिक कार्यमा फर्कने वातावरण निर्माण गर्न यूनियनले जोडदार माग गरेको छ।
युनियनले प्राधिकरणबाट सम्पादन हुने काम कारवाहीहरू प्रचलित कानून ऐन, नियन, विनियम, कार्यविधि, निर्देशिका, निर्णय लगायतको परिधि भित्र रही कार्य गर्ने वातावरणको सिर्जना गर्नको लागि समेत प्राधिकरण व्यवस्थापन समक्ष गम्भीर ध्यानाकर्षण गराएको छ भने सञ्चालन भईरहेका कतिपय परियोजना/कार्यक्रमहरु ओभरसाइट एजेन्सीबाट अनुसन्धान/तहकीकात् भईरहेका भन्ने बुझिन आएकोले उक्त परियोजनाहरु अनुसन्धान/तहकिकातको अन्तिम निष्कर्षमा नपुगुन्जेल उक्त परियोजनाहरु यथास्थितिमा राख्नका लागि यूनियनले अनुरोध समेत गरेको छ।
स्मरण रहोस् लेखा प्रमुख तथा प्राधिकरणका उप निर्देशक सुरेश बस्नेतले मंगलबार मात्र स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। उनले एमडीएमएसको भुक्तानीका लागि केहि समयदेखि चर्को दबाब खेपिरहेको विभिन्न स्रोतहरुले टेक्नोलोजीखबरलाई जानकारी दिएका थिए।
हेर्नुस् समाचार-
बस्नेतको राजीनामासँगै यूनियनले प्राधिकरण नेतृत्वलाई ध्यानाकर्षण गराएको हो। यसअघि मंगलबार यूनियनका पदाधिकारीहरुसँगको छलफलमा राजीनामा दिएपछि बस्नेतले पछिल्लो समय आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै राजीनामा दिएको जानकारी गराएका थिए।
“उहाँले हिजो स्वास्थ्यको कारण राजीनामा दिएको भन्नु भएको थियो। तर भित्रि कुरा अर्कै भएको देखियो,” प्राधिकरण स्रोतले भन्यो, “यस बारेमा छानबिन हुनपर्छ भन्ने हाम्रो माग हो।”
स्रोतकाअनुसार युनियनका पदाधिकारीहरुसँगको छलफलमा अध्यक्ष खनालले उनको राजीनामा स्वीकृत नगर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
यस बाहेक अध्यक्ष खनालले बिहिबार नै प्राधिकरणका उप निर्देशकहरुसँगको छलफलमा पनि बस्नेतको राजीनामा स्वीकृत नगर्ने जानकारी गराएका थिए।
“राजीनामा स्वीकृत हुँदैन्। बरु तपाईँहरुले पनि उहाँलाई फर्काउने वातावरण बनाउन सहयोग गरिदिनुस्,” अध्यक्षले भनेको भन्दै स्रोतले बतायो।

प्रकाशित: २ कार्तिक २०८०, बिहीबार