भदौमा वालेट मार्फत हुने भुक्तानी थोरैले घट्यो

  • Technology Khabar | २ कार्तिक २०८०, बिहीबार
भदौमा वालेट मार्फत हुने भुक्तानी थोरैले घट्यो

काठमाडौं ।

नेपालमा भुक्तानी सेवा प्रदायक (वालेट) मार्फत हुने भुक्तानी रकम थोरैले घटेको देखिएको छ। वालेट मार्फत २१ अर्ब ९ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी भएको नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० भदौको मासिक भुक्तानी प्रणाली सूचकमा देखिएको हो।

साउनमा वालेट मार्फत २१ अर्ब ९१ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो। साउनको तुलनामा भदौमा वालेट मार्फत हुने भक्तानी ८२ करोड ४० लाख रुपैयाँ अर्थात ३.७५ प्रतिशतले घटेको छ।

वालेट मार्फत हुने भुक्तानी रकम घटे पनि कारोबार संख्या भने बढेको देखिन्छ। गत साउनमा वालेट मार्फत २ करोड २२ लाख ५ हजार ९४७ पटक कारोबार भएको थियो भने भदौमा २ करोड २४ लाख १४ हजार ५७६ पटक कारोबार भएको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार हालसम्म वालेट प्रयोगकर्ता १ करोड ९९ लाख २२ हजार ४४३ पुगेको छ। साउनमा वालेट प्रयोगकर्ता १ करोड ९५ लाख ४० हजार ३०५ थिए।

सहज र सरल तरिकाबाट भुक्तानी गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा वालेटको प्रयोग बढ्दो क्रममा छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट निःशुल्क वालेटमा रकम लोड गर्न सकिने भएकाले पनि यसमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ।

मोबाइलमा वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बीमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानी, राजश्व, जरिवाना लगायतको भुक्तानी गर्न सक्छन्। साथै बैंक खाता नहुनेहरुले पनि वालेटको प्रयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरुको आकर्षण बढेको देखिन्छ।

प्रकाशित: २ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार