
काठमाडौं ।
विश्वभरका अन्तरिक्ष एजेन्सीहरूको नजर अहिले चन्द्रमामा छ। धेरै देशहरू चन्द्रमामा मिसनहरू पठाएर अन्वेषण गर्न चाहन्छन्।
उता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०४० सम्ममा चन्द्रमामा घर निर्माण सुरु गर्ने योजना बनाएको छ।
वैज्ञानिकहरूको समूहले साइन्टिफिक रिपोर्ट्स जर्नलमा केही नयाँ निष्कर्षहरू दिएका छन्। चन्द्रमाको धुलोलाई पक्की सडक र त्यहाँ ल्यान्डिङ प्याड निर्माण गर्न प्रयोग गर्न सकिने उनीहरुको विश्वास छ। यो काम विशाल लेन्सको मद्दतले गर्न सकिन्छ, जसले सूर्यको किरण प्रयोग गर्नेछ।
स्पेस डटकमको रिपोर्टअनुसार चन्द्रमामा रहेको धुलो ठूलो मात्रामा त्यहाँको ज्वालामुखी चट्टानले बनेको छ। लाखौं वर्षमा यो नष्ट भई धुलो जस्तै बनिसकेको छ। हामीले हेर्दा चन्द्रमा सेतो जस्तो देखिए पनि यसमा रहेको माटो खैरो रंगको छ।
चन्द्रमामा हावा वा पानी नभएकोले त्यहाँ रहेको धुलो निकै धारयुक्त छ र चन्द्रमासँग सम्बन्धित मिसनहरूका लागि खतरा साबित हुन सक्छ। यदि यो श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गरेको अवस्थामा यसले अन्तरिक्ष यात्रीहरूको फोक्सोमा क्षति पुर्यउन सक्छ। यसले चन्द्रमामा रहेको ल्यान्डर र स्पेससुटलाई पनि क्षति पुर्याउन सक्छ।
चन्द्रमामा पक्की सडक बनाएर रोभरहरूलाई क्षतिबाट बचाउन सकिने वैज्ञानिकहरुको योजना छ। वैज्ञानिकहरू चन्द्रमामा सडक निर्माण गर्न त्यहाँ उपलब्ध स्रोतहरूको अधिकतम उपयोग गर्न चाहन्छन्।
वैज्ञानिकहरूले पृथ्वीमा यससँग सम्बन्धित एक प्रयोग पूरा गरेका छन्। उनीहरुले नक्कली चन्द्रमाको माटो पगालेर स्ल्याब बनाउन खोजे र यो काममा सूर्यको प्रकाश प्रयोग गरेका छन्।
चन्द्रमाको माटोबाट २५ सेन्टिमिटर चौडा र २.५ मिलिमिटर बाक्लो टाइलहरू बनाउन सकिने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। यसले चन्द्रमाको सतहमा सडक र ल्यान्डिङ प्याडमा प्रयोग गर्न सकिनेछ। यो कामको लागि लगभग ५.७ फिट व्यासको लेन्स आवश्यक हुनेछ।
यद्यपि, त्यस्ता टाईलहरू कत्तिको बलियो हुन्छन् र तिनीहरूलाई ल्यान्डिङ प्याडहरूमा प्रयोग गर्दा के हुन्छ भनेर अनुसन्धान गर्न अझै बाँकी छ।
प्रकाशित: २ कार्तिक २०८०, बिहीबार