एक्सले न्यूजील्याण्ड र फिलिपिन्सका नयाँ प्रयोगकर्तासँग प्रति वर्ष एक डलर शुल्क लिँदै

  • Technology Khabar | १ कार्तिक २०८०, बुधबार
एक्सले न्यूजील्याण्ड र फिलिपिन्सका नयाँ प्रयोगकर्तासँग प्रति वर्ष एक डलर शुल्क लिँदै

काठमाडौं ।

इलन मस्कको एक्स (ट्विटर)ले नयाँ परीक्षणको हिस्साको रूपमा न्यूजील्याण्ड र फिलिपिन्समा नयाँ प्रयोगकर्ताहरूलाई मुख्य फिचर्समा पहुँच गर्न प्रति वर्ष १ अमेरिकी डलर लिन थालेको छ।

यसमा ट्वीट, रिट्वीट, पोस्ट लाइक गर्ने र पोस्टमा रिप्लाई दिने क्षमता समावेश छ।

सब्सक्रिप्सन शुल्क नतिर्नेले पोस्ट पढ्ने, भिडियो हेर्न र अकाउन्टहरुमा फलो गर्न मात्र सक्षम हुनेछन्।

सोशल मिडिया प्लेटफर्मले यसबाट ‘स्प्याम, प्लेटफर्मको हेरफेर र बोट गतिविधि’ कम गर्ने लक्ष्य लिएको बताएको छ।

नयाँ प्रयोगकर्ताले फोन नम्बर मार्फत अकाउन्ट भेरिफिकेसन गर्नु पर्छ। यद्यपि मस्कले भनेका छन् यस्तो नगर्ने प्रयोगकर्ताले पढ्नका लागि मात्र अकाउन्ट खोल्न सक्छन्। जसमा मुख्य फिचर्स हुने छैन।

गत महिना मस्कले सबै एक्स प्रयोगकर्ताले प्लेटफर्ममा पहुँच गर्न भुक्तानी गर्नु पर्ने सुझाएका थिए।

गत वर्ष मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेदेखि प्लेफर्मले निरन्तर राजश्वमा गिरावट देखेको बीबीसीले उल्लेख गरेको छ।

कम्पनीले आफ्नो राजश्व बढाउने उद्देश्यका लागि प्रयोगकर्तासँग शुल्क लिइरहेको देखिन्छ। प्लेटफर्मका रहेका बटसँग लड्न प्रयोगकर्तासँग शुल्क लिइरहेको मस्कले दाबी गर्दै आएका छन्।

उनले पहिले भनेका छन् कि बोट बनाउन ‘एक पैसाको एक अंश’ खर्च हुन्छ। ‘तर यदि कसैले केहि डलर वा केहि, केहि मामूली रकम तिर्नु पर्छ भने, बटहरूको प्रभावकारी लागत धेरै उच्च छ।’

एक्स प्रिमियम भनिने परिष्कृत सेवाका सशुल्क सब्सक्राइबरले लामो पोस्टहरू र प्लेटफर्ममा बढेको भिजिबिलीटी जस्ता थप फिचर्सका लागि भुक्तान गर्छन्।

एक्स प्रिमियमको शुल्क ८ अमेरिकी डलर प्रति महिना छ।

प्रकाशित: १ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार