Technology Khabar ३० आश्विन २०८०, मंगलवार
काठमाडौं ।
हुम्ला जिल्लाको मानसरोवर नमुना माध्यमिक विद्यालयमा विद्यार्थी नहुँदा डिप्लोमा सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन हुन सकेको छैन।
तोकिएको विद्यार्थी कोटा निरन्तर नपुग्दा विषय नै खारेज हुने अबस्थामा पुगेको छ। सिमकोट गाउँपालिका-६ को विद्यालयमा भनी खोले पनि विद्यार्थी नहुँदा यस शैक्षिक सत्रको पहिलो सेमेस्टरका लागि भर्ना हुन नसकेको हो।
विद्यालयका प्रधानाध्यापक अम्मरबहादुर शाहीले यस शैक्षिक सत्रमा प्राविधिक धारतर्फको डिप्लोमा सिभिल इन्जिनियरिङ विषयका लागि भर्ना खोल्दा एक जना पनि विद्यार्थी नआएको बताए। जसले गर्दा आगामी बर्ष यस विषयको पठनपाठन बन्द हुने अबस्थामा रहेको छ।
उनले निर्धारित कोटाको विद्यार्थी सहल्या नपुगेका कारण आर्थिक रूपमा पनि पठनपाठन गर्न नसकिने अवस्थामा पुगेको बताए।
सिटिइभिटीको नियम अनुसार एउटा सेमेस्टर सञ्चालन गर्नका लागि ४८ जना विद्यार्थी आवश्यक पर्ने गर्दछ। विद्यालयमा उक्त विषय पठनपाठन हुन थालेको पाँच वर्ष भएको छ। यसअघि पनि तोकिएको विद्यार्थी सहल्या कहिल्यै पुगेको थिएन ।
उनले विद्यार्थी नभएपछि आगामी वर्ष विद्यालयले पाएको उक्त विषयको सम्बन्धनसमेत खारेज हुने अवस्थामा पुगेको बताए। सम्बन्धन पाएर पठनपाठन सुरु भएयता हाल दोस्रो सेमेस्टरमा १५ जना तेस्रोमा तीन जना, चौथोमा चार जना र पाँचौमा १० जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
विद्यालयले तीनवर्षे कोर्सका लागि एक जना विद्यार्थीबाट दुई लाख ५० हजार रुपियाँ शुल्क लिने गरेको छ। विद्यालयले अध्ययनका लागि अनुमति पाएको ४८ जना विद्यार्थीमा २४ जना पुगी प्रस्तावना पेस गरे सिटिइभिटीबाट सातदेखि १० लाख अनुदान पाउने अवसरबाट समेत वञ्चित हुँदै आएको छ। गोरखापत्रबाट
प्रकाशित: ३० आश्विन २०८०, मंगलवार