काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२३ अल्ट्रामा हाल २०० मेगापिक्सेलको क्यामरा रहेको छ जुन आईफोन १५ प्रो म्याक्समा रहेको क्यामरा सेन्सर भन्दा चार गुणा ठुलो भएको उल्लेख छ। त्यसैगरी कम्पनीले अब कथित रूपमा दुई नयाँ आईएसओसेल क्यामरा सेन्सरहरूमा काम गरिरहेको र त्यसमा ४३२–मेगापिक्सेल रिजोल्युसन रहेको उल्लेख गरिएको छ।
टिपस्टर रेभेग्नसले सामसङको सो नयाँ जानकारी दिएका हुन्। रेभेग्नससँग सामसङका उत्पादनहरूका बारेमा सही जानकारी लीक गर्ने राम्रो ट्र्याक रेकर्ड रहेको छ। रेभेग्नसकाअनुसार सामसङले एचडब्ल्यू१ र एचडब्ल्यू२ नामक दुईओटा आईएसओसीईएलएल सेन्सरमा काम गरिरहेको र यसको साइज १ इन्च र रिजोल्युसन ४३२ मेगापिक्सेल (एमपी) रहेको गीज्मोचाइनामा उल्लेख छ।
यद्यपि, उक्त दुई सेन्सर बीच केही प्रमुख भिन्नताहरू रहेका छन्। आईएसओसेल एचडब्ल्यू१ लाई ०.५६माइक्रोमिटर पिक्सेल भएको १/१.०५ इन्च सेन्सर भनिएको छ भने आईएसओसेल एचडब्ल्यू२ ०.५माइक्रोमिटर पिक्सेल भएको १/१.०७ इन्च सेन्सर भएको थप उल्लेख गरिएको छ।
उक्त दुई सेन्सरहरूले मल्टिपल पिक्सेलहरूलाई कम्बाइन गर्नका लागि पिक्सेल बाईनिङ प्रयोग गर्ने अपेक्षा गरिएको छ भने यसले गर्दा लो–लाईट कन्डिसन (कम प्रकाश अवस्थाहरू) मा तीखो र राम्रो–गुणस्तरका तस्बिरहरू हासिल हुनेछ। त्यसैगरी रिपोर्टकाअनुसार यी सेन्सरहरू सामसङको तर्फबाट पहिलो आईएसओसेल एचडब्ल्यू सिरिज सेन्सरहरू पनि हुनेछन्।
जुलाई २०२२ मा सामसङले हेक्सापिक्सेल ट्रेडमार्क दायर गरेको थियो र त्यसले सुझाव दिएअनुसार क्यामराले ४३२ मेगापिक्सेल बराबरको ३६ः१ पिक्सेल बाइनिङ प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ।
यद्यपी सामसङले ४३२–मेगापिक्सेल क्यामरा सेन्सर सहितको आफ्नो पहिलो स्मार्टफोन कहिले लन्च गर्नेछ भन्ने बारेमा स्पष्टता नभए तापनि सन् २०२५ भन्दा छिटो हुनसक्ने सम्भावना रहेको उल्लेख छ। त्यसैगरी २०२५ को सुरुवातमा लन्च हुने अपेक्षा गरिएको ग्यालेक्सी एस२५ सिरिजमा पहिलो पटक नयाँ सेन्सर फिचर गर्न सकिने अनुमान छ।
नयाँ ४३२ मेगापिक्सेल क्यामरा सेन्सरहरूका अतिरिक्त सामसङले ग्यालेक्सी जेड फोल्ड ७ को लागि नयाँ २०० मेगापिक्सेल क्यामरा सेन्सरमा पनि काम गरिरहेको उल्लेख छ। यस आईएसओसेल एचपी५ मा ०.५माइक्रोमिटर पिक्सेलको साथ १÷१.३–इन्च सेन्सर हुने उल्लेख गरिएको छ।
प्रकाशित: २४ आश्विन २०८०, बुधबार