Technology Khabar २१ आश्विन २०८०, आईतवार
काठमाडौं ।
शुरुवातदेखि नै विवादित रहेको र नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्न सेवा प्रदायकलाई दबाब दिईरहेको टेरामोस (वा टेरामोक्स समेत भनिने) प्रणालीको बारेमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।
अख्तियारले त्यस प्रणालीको बारेमा शुरुवातदेखिकै सम्पूर्ण सक्कल कागजातहरु र निर्णयहरु लगेर हाल अनुसन्धान गरिरहेको छ। जसमा अख्तियारले प्राधिकरणका अध्यक्ष, बोर्ड सदस्यहरु सहित पदाधिकारीहरुसँग सोधपुछ र बयान लिईसकेको छ भने उनीहरुसँग थप सोधपुछ गर्न हाल तारेखमा राखेको छ।
यसका साथै शुरुवाती चरणमा टेरामोसको बारेमा परामर्श दिने परामर्शदाताहरुसँग समेत सोधपुछ र बयान लिएको छ भने अख्तियारले सो प्रणालीका उपकरणहरुको बारेमा आशंका गर्दै प्राधिकरणमा नै पुगेर जाँच र छानबिनसमेत गरेको छ।
एकातर्फ अख्तियारले छानबिन गरिरहेको छ भने अर्कोतर्फ सरकारले पनि यसको कानून नबनाई लागू नगर्न भनिरहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कानून बनाएर मात्र त्यस प्रणाली अगाडि बढाउन निर्देशन नै दिईसकेको छ। अख्तियारले छानबिन गरिरहेको समय र प्रधानमन्त्रीले हाल रोक्न आदेश दिएको टेरामोस प्रणाली लागू गराउनका लागि प्राधिकरण भने हतारमा देखिएको छ।
जसले गर्दा प्राधिकरणले जसरी पनि सो प्रणाली लागू गराउने र त्यसको लागी जुनसुकै दबाब दिने तयारी गरेको बताईएको छ। यसकै लागि प्राधिकरणले टेरामोसको पक्षमा बोल्न र सार्वजनिकरुपमा दबाब दिनकै लागि क्यान महासंघसँग मिलेर सरकारको निर्णयका विरुद्ध कार्यक्रम नै आयोजना गर्न लागेको थियो। जसको बारेमा टेक्नोलोजीखबरले भिडियोसहित समाचार प्रकाशित गरेपछि सो कार्यक्रमको योजनानै तुहिएको थियो।
सम्बन्धित समाचार-
यसअघि पनि टेरामोसको पक्षमा लबिङ्ग गर्न र सरकार र प्रधानमन्त्रीको निर्देशन विपरित अगाडि बढ्न प्राधिकरणले विभिन्न उपायहरु गर्दै आएको छ।
यति मात्र नभई प्राधिकरण बोर्डले पनि निर्णय गरेर टेरामोसलाई हाल अगाडि नबनाउन निर्देशन दिईसकेको छ। जसमा बोर्डले “टेरामोस स्थापना गर्ने सम्बन्धमा आवश्यक नीतिगत/कानूनी स्पष्टता भएपछि मात्रै प्रक्रिया अगाडि बढाउन” भनेको छ।*
सम्बन्धित समाचार-
विवादित टेरामोस प्रणाली लागू नगर्न दूरसञ्चार प्राधिकरण व्यवस्थापनलाई बोर्डको निर्देशन
सरकार र प्रधानमन्त्रीले कानून बनाएर मात्र लागू गर्ने निर्देशन र अख्तियारको बिस्तृत छानबिनको बिचमा प्राधिकरणले भने त्यसको पक्षमा लबिङ्ग गराउने उद्देश्यले पत्रकार सम्मेलन गर्ने भएको छ।
प्राधिकरणले टेरामोसको बारेमा बिस्तृत जानकारी दिन भन्दै आज बेलुका ५ बजे पत्रकार भेटघाट कार्यक्रम राखेको छ।
प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले टेरामोसको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागिएको जानकारी दिए।
“प्राधिकरणले टेरामोस प्रणालीको बारेमा बुझाउन आज पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ। तपाईँलाई पनि निमन्त्रणा छ,” उनले भने।
सहायक प्रवक्ता मिश्रले यस बारेमा अन्य जानकारी दिन भने मानेनन्।
तर स्रोतले भने अख्तियारको गंभिर छानबिन र सरकारको निर्देशनलाई रोक्नका लागि प्राधिकरण निरन्तर लागि रहेको बताएको छ।
“टेरामोसमा त्रुटिपूर्ण भुक्तानी र सामान आयात गर्दा एलसी नै हेरफेर गरेको विषयले प्राधिकरण समस्यामा परेको छ। जसले गर्दा अख्तियारको छानबिन रोक्न र सरकारलाई दबाब दिनका लागि संचारमाध्यमलाई आफ्नो पक्षमा पार्नलाई हो,” स्रोतले भन्यो, “यसका साथै अख्तियार, सरकार र मन्त्रीलाई समेत यसैबाट एकैपटक काउन्टर दिने योजना हुनसक्छ।”
यसैबीच प्राधिकरण प्रवक्ता सन्तोष पौडेलले टेरामोसको बारेमा विभिन्न भ्रामक तथ्यहरु बाहिर आइरहेको भन्दै पत्रकार सम्मेलन गर्न लागिएको जानकारी दिएका छन्।
उनले पठाएको पत्रमा भनिएको छ, “उपरोक्त दूरसंचार सेवामा हुने अपराधिक क्रियाकलापको निरीक्षण/न्युनीकरण गर्न तथा सेवा प्रदायकहरुको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर जाँच गरी सोहि ऐनको दफा १३ (छ) अनुसार दूरसंचार सेवालाई विश्वासिलो, गुणस्तरीय तथा भरपर्दो बनाई दूरसंचार प्रविधिमा हुने नयाँ प्रविधिको विकास अनुसारको प्रविधि उपयोगको सुनिश्चित गर्न तथा सोहि ऐनको दफा १७ अनुसार अनुगमन तथा निरिक्षण गर्न Telecommunication Traffic Monitoring and Fraud Control System(TERAMOCS) स्थापना गर्न लागिएकोमा सो सम्वन्धमा विभिन्न भ्रामक तथ्यहरु बाहिर आइरहको हुनाले सो सम्वन्धमा सत्य तथ्य तथा प्राविधिक जानकारीको लागि देहाय बमोजिम संचारकर्मी सहितको छलफल कार्यक्रम राखिएको व्यहोरा अनुरोध छ।”*
उता अख्तियारले भने टेरामोस प्रणाली बारेको अनुसन्धान दशैं आसपासमा टुंग्याउने तयारी गरेको छ।
*अपडेट गरिएको
प्रकाशित: २१ आश्विन २०८०, आईतवार