छानबिनमा रहेको टेरामोस प्रणालीको उपकरण जाँच गर्दै अख्तियारको टोली दूरसञ्चार प्राधिकरणमा

Technology Khabar २१ आश्विन २०८०, आईतवार

काठमाडौं ।

शुरुवातदेखि नै विवादित रहेको र नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्न सेवा प्रदायकलाई दबाब दिईरहेको टेरामोस वा टेरामोक्स समेत भनिने प्रणालीको बारेमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।

अख्तियारले त्यस प्रणालीको बारेमा शुरुवातदेखिकै सम्पूर्ण कागजातहरु लगेर अनुसन्धान गरिरहेको छ।

यसका साथै अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष, बोर्ड सदस्यहरुसहित पदाधिकारीहरुसँग सोधपुछ र बयान लिईसकेको छ भने उनीहरुलाई तारेखमा राखेको छ।

यसका साथै शुरुवातमा टेरामोसको बारेमा परामर्श दिने परामर्शदाताहरुसँग समेत सोधपुछ र बयान लिएको छ।

यसैबिच अख्तियारले सो प्रणालीका उपकरणहरुको बारेमा आशंका व्यक्त गर्दै प्राधिकरण कार्यालयमा नै पुगेर जाँच र छानबिन गरेको छ।

अख्तियारका अनुसन्धान अधिकृतसहितका कर्मचारीहरु दूरसञ्चार प्राधिकरण कार्यालयमा नै पुगेर सो प्रणालीका बारेमा अनुसन्धान र सोधपुछ गरेका स्रोतले जानकारी दिएको छ। उनीहरुले उक्त प्रणालीमा प्रयोग हुने उपकरणहरुको प्रयोग र अवस्थाको बारेमा छानबिन र जाँच गरेको बताईएको छ।

“अख्तियारको टोली शुक्रबार प्राधिकरणमा आएर टेरामोस प्रणालीका उपकरणहरुको अवस्थाको बारेमा बिस्तृतमा जानकारी दिएको छ,” स्रोतले टेक्नोलोजीखबरसँग भन्यो, “उनीहरुलाई उपकरणहरुको बारेमा समेत आशंका भएपछि छानबिनको क्रममा आएका हुन्।”

प्रकाशित: २१ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया