
काठमाडौं ।
गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवाको सुरुवात गरेको छ। नेपालमा करिब तीन दशक अघि सुरु भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सिमित नेपालीहरुको मात्र पहुँच पुगेको देखिन्छ। क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदा सम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आम जनमानसमा नपुगेको मान्न सकिन्छ।
“आज किन्नुहोस् र पछि तिर्नुहोस्” सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहक महानुभावहरुका लागि सुरुवात गरिसकेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
यसलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको जनाएको छ।
यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई शून्य प्रतिशत (०%) ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सकिने उल्लेख गरिएको छ।
साथै, यदि ग्राहक आफैले पनि अरु कतैबाट सामान खरिद गरि गरिमा विकास बैंकमा भ्याट बिल पेश गरि यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिने थप उल्लेख गरेको छ।
आउँदै गरेको बडा दशैं तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकमहानुभावहरुले यो सुविधा मार्फत लाभ उठाउन सक्नेछन्। बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको छ।
हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ।
प्रकाशित: १९ आश्विन २०८०, शुक्रबार