
काठमाडौं ।
दूरसञ्चारदेखि पेट्रोलियमसम्मका व्यवसायमा संलग्न भारतीय ग्रुप रिलायन्स इन्डस्ट्रिजले विद्युतीय सवारी साधन (इभी) को लागि स्वाप गर्न सकिने र बहुउद्देश्यीय ब्याट्री भण्डारण प्रविधि ल्याएको छ। अर्बपति मुकेश अम्बानीको नेतृत्वमा रहेको यो कम्पनीले स्वच्छ ऊर्जामा ठूलो लगानी गर्ने योजना बनाएको छ।
रिलायन्सले ईभीका लागि हटाउन सकिने र बदल्न मिल्ने ब्याट्रीहरू ल्याएको छ जसलाई इन्भर्टरमार्फत घरेलु उपकरणहरू चलाउन पनि प्रयोग गर्न सकिन्छ। नवीकरणीय उर्जा सम्बन्धी प्रदर्शनीमा कम्पनीका कार्यकारीहरुले यसबाट एउटा ब्याट्रीलाई गतिशीलताका साथै घरमा उपकरण चलाउन प्रयोग गर्न सकिने बताए ।
यी ब्याट्रीहरू रिलायन्सको ब्याट्री स्वाप स्टेशनहरूमा बदल्न सकिन्छ वा घरको छतमा सौर्य प्यानलहरू प्रयोग गरेर रिचार्ज गर्न सकिन्छ। यद्यपी कम्पनीले यी ब्याट्रीहरु कहिले बिक्री सुरु गर्ने हो भन्ने जानकारी नभएको भारतीय मिडियाहरुले रिपोर्टमा भनेका छन्।
ब्याट्री भण्डारण समाधानहरू पनि कम्पनीको स्वच्छ ऊर्जा सम्बन्धित परियोजनाहरूमा १० बिलियन डलर लगानी गर्ने योजनामा समावेश छन्। रिलायन्सले आफ्नो पेट्रोलियम व्यवसायमा निर्भरता घटाउने लक्ष्य राखेको छ। यसका लागि रिलायन्सले दुईओटा ब्याट्री कम्पनीलाई २० करोड डलरमा किनेको थियो। यसमा बेलायतको फराडियन र लिथियम वर्क्स समावेश छ।
गत वर्ष, रिलायन्सले भारतमा नै ब्याट्री सेल उत्पादनलाई बढावा दिन केन्द्र सरकारको २.४ बिलियन डलर योजना अन्तर्गत ५ गिगावाट घण्टा ब्याट्री उत्पादन प्लान्ट स्थापना गर्न प्रोत्साहन प्राप्त गरेको थियो। यो प्लान्ट २०२६ सम्म स्थापित हुनेछ र ब्याट्री र कन्टेनराइज्ड ऊर्जा भण्डारण समाधानहरू उत्पादन गर्नेछ।
भारतमा ईभीको बिक्री तीव्र गतिमा बढिरहेको छ। कार्बन उत्सर्जन घटाउन र इन्धन आयात घटाउन केन्द्र सरकारले ईभीहरुलाई प्रवर्द्धन गर्ने उपायहरू अपनाएको छ। धेरै राज्य सरकारहरूले पनि विद्युतीय सवारीसाधन खरिदमा जनतालाई अनुदान दिइरहेका छन्।
प्रकाशित: १९ आश्विन २०८०, शुक्रबार