
काठमाडौं ।
ताइवानका अर्थमन्त्री वाङ मेइ-हुआले चार ताइवानी कम्पनीले ह्वावेलाई प्रमुख प्रविधिहरू आपूर्ति गरिरहेको कुरा अस्वीकार गरेकी छिन्।
वाङको टिप्पणी ब्लूमबर्गको रिपोर्ट पछि आएको हो। जसमा चार कम्पनीहरू, टाेप्काे साइन्टिफिक, एल एण्ड के इन्जिनियरिङ्, युनाइटेड इन्टिग्रेटेड सर्भिसेज र किका-हन्टेक केमिकल टेक्नोलोजीले ह्वावेलाई “चिप प्लान्टहरूको अन्डर-द-राडार नेटवर्कको लागि पूर्वाधार निर्माण” गर्न मद्दत गरिरहेको उल्लेख थियो।
उनले ताइवानको कानूनले स्थानीय कम्पनीहरूलाई चिनियाँ बजारमा लगानी गर्दा चीनलाई प्रमुख प्रविधिहरू उपलब्ध गराउन निषेध गरेको पनि बताइन्। उनले आफूलाई थाहा भएअनुसार ब्लूमबर्गको प्रतिवेदनमा उल्लेख गरिएका चार कम्पनीले ह्वावेलाई कुनै पनि प्रमुख प्रविधि वा उपकरण आपूर्ति नगरेको बताइन्।
टोपको साइन्टिफिक, एल एन्ड के इन्जिनियरिङ र युनाइटेड इन्टिग्रेटेड सर्भिसेजले पनि आफूहरू शेन्जेनमा निर्माण कार्यमा मात्र संलग्न रहेको भन्दै आरोपहरू अस्वीकार गरेका छन्। आर्थिक मामिला मन्त्रालय (एमओइए) ले तीन कम्पनी र ह्वावे बीचको सहकार्यमा कुनै नियम उल्लङ्घन भए नभएको अनुसन्धान गर्ने बताएको छ।
प्रतिवेदनमा उल्लेख गरिएका ताइवानी कम्पनीहरूले ह्वावेसँगको सहयोगका लागि कुनै नतिजा भोग्नुपर्ने हो वा होइन भन्ने स्पष्ट छैन। यद्यपि, आरोपहरूले ताइवानले चीनसँगको आर्थिक सम्बन्धलाई आफ्नो सुरक्षा चासोका साथ सन्तुलनमा राख्न सामना गर्ने चुनौतीहरूलाई हाइलाइट गरेको छ।
पछिल्लो समय ह्वावेले स्मार्टफोन बजारमा तरंग मच्चाइरहेको छ। लामो प्रतिक्षा पछि, कम्पनीले आफ्नो मेट ६० सिरिज मार्फत प्रयोगकर्ताहरूको मन जितेको छ।
सन् २०१९ देखि ह्वावे अमेरिकी प्रतिबन्धमा छ, जसले गर्दा उनीहरूलाई धेरै आधुनिक प्रविधिहरू पहुँच गर्न गाह्रो भएको छ।
यस कारणले, अधिकारीहरू मेट ६० श्रृंखलामा प्रयोग गरिएका प्रविधिहरूबाट आश्चर्यमा परेका थिए र ह्वावेलाई प्रतिबन्धलाई बाइपास गरेको आरोप लगाए। यसबाहेक, ताइवानी टेक फर्महरू यसको लागि आरोपित थिए।
प्रकाशित: १९ आश्विन २०८०, शुक्रबार