भैरहवामा क्युआर भुक्तानी प्रणाली सुरु

Technology Khabar १८ आश्विन २०८०, बिहीबार

भैरहवामा क्युआर भुक्तानी प्रणाली सुरु
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर कार्यालयले आफ्ना सेवाग्राही तथा कर्मचारीबाट सङ्कलन गरिने नगद रकमलाई विद्युतीय भुक्तानीको माध्यमबाट लिन सकिने गरी क्युआर माध्यम सञ्चालनमा ल्याएको छ।

कार्यालयका निर्देशक सत्येन्द्रराज सुवेदीले एक कार्यक्रमबिच आफ्नो आन्तरिक बिल फस्र्योट गर्ने क्रममा कार्यालयलाई बुझाउनुपर्ने रकम क्युआर माध्यमबाट बुझाएर विद्युतीय भुक्तानीको औपचारिक रूपमा सुरुवात गरे।

यससँगै नेपाल राष्ट्र बैङ्क, सिद्धार्थनगर कार्यालयबाट सर्वसाधारणले भारतीय मुद्रालगायत अन्य विदेशी मुद्रा र सिक्का खरिद गर्दा वा पाँच रुपियाँदेखि माथिको दरका सुकिला तथा नयाँ नोट लिँदा अबदेखि ग्राहकले आफ्नो साथमा नगद लैजानुपर्ने आवश्यकता नपर्ने भएको छ ।

सेवाग्राहीले विभिन्न बैङ्कको एटिएममा धाएर रकम लिनुको सट्टा कार्यालय खुलेको समयमा नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर कार्यालयमा गई निःशुल्क रूपमा क्युआर प्रयोग गरी आफूले चाहेको दरको नोट लिन सक्ने भएका छन् । यसबाट एउटा बैङ्कको खातावालाले अर्को बैङ्कको एटिएम प्रयोग गर्दा तिर्नुपर्ने शुल्क बचत हुने भएको छ ।

कारोबारलाई क्रमशः नगदरहित बनाई सुरक्षित, सर्वसुलभ र भरपर्दो विद्युतीय माध्यमबाट कारोबार गर्न यस्तो व्यवस्था सुरु गरेको निर्देशक सुवेदीले बताए। कार्यालयले ‘नेपाल पे’ र ‘फोन पे’ दुई वटै कम्पनीको क्युआर राखेको उनले जानकारी दिए।

प्रकाशित: १८ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया