
काठमाडौं ।
युरोपमा इलेक्ट्रिक गाडीको बिक्री बढ्दो क्रममा देखिएको छ। जाटो डाइनामिक्स तथ्यांक अनुसार अगस्टमा युरोपभर दर्ता भएका नयाँ कारमध्ये २२ प्रशित इलेक्ट्रिक रहेको छ।
२०२२ को अगस्टको तुलनामा २०२३ को अगस्टमा सम्पूर्ण कारको दर्ता २० प्रतिशतले बढेको छ। यसले महादेशमा कारको माग उच्च रहेको देखाउँछ।
दर्ताको आधाभन्दा बढी ५३ प्रतिशत पेट्रोलबाट चल्ने कारहरू छन्।
जाटो डाइनामिक्सले भन्यो, ‘यद्यपि हालको उद्योग बहसहरूले प्रायः बीईभी (ब्याट्री इलेक्ट्रिक भेहिकल) को वृद्धिमा मन्दी तर्फ संकेत गर्दछ, हाम्रो डाटाले उनीहरूको बढ्दो प्रतिस्पर्धी मूल्य निर्धारण, र युरोपभरका सरकारहरूबाट निरन्तर समर्थनको कारण मागमा वृद्धि बलियो रहेको देखाउँछ।’
युरोपमा ईभीको बिक्री बढ्नुमा सस्तो मूल्यका चिनियाँ ब्रान्ड र टेस्ला मोडलको बलियो आपूर्तिलाई मानिएको छ।
सन् २०२० जनवरी देखि अगस्टको अवधिमा ४५ हजार ६०० टेस्ला दर्ता भएकोमा यो वर्षसम्म २ लाख ३६ हजार ४०० यूनिट पुगेको छ। त्यसैगरी, गत महिना टेस्लाको समग्र बजारमा २.४३ अंकको बजार हिस्सा बढेर ३.७६ प्रतिशत को नयाँ कीर्तिमान हासिल गरेको छ। जबकि बीईभी बजारमा टेस्लाको हिस्सा अगस्ट २०२२ मा १०.२ प्रतिशतबाट बढेर १७.३ प्रतिशत पुगेको छ।
अगस्टमा टेस्लाको मोडल वाई यूरोपमा सर्वाधिक बिक्री हुने कारको रुपमा कायम नै छ।
एमजी अगस्ट २०२२ र यस वर्षको सोही महिनाको अवधिमा बीईभी र समग्र बजार दुवैमा दोस्रो सर्वाधिक बजार हिस्सा ओगटेको छ। गत महिना, जीप, माज्दा, मिनी र सुजुकीलाई पछि पार्दै एमजी युरोपेली शीर्ष २० ब्रान्डमा परेको थियो। बीईभी बजारमा एमजीले अडी, ओपेल, प्यूजो, रेनो र स्कोडा भन्दा धेरै कार दर्ता गरेको छ।
टेस्ला र एमजीको उदयले फोर्ड, हुन्डाई, किया, फक्सवागन लगायत ब्रान्डको युरोपियन बजार प्रभावित भएको छ। यी ब्रान्डले युरोपमा आफ्नो शाख जोगाउन थप इलेक्ट्रिक मोडल बजारमा ल्याउनु पर्ने फिल्टन्यूजले उल्लेख गरेको छ।
प्रकाशित: १७ आश्विन २०८०, बुधबार