
काठमाडौं ।
टाटा मोटर्सको स्वामित्वमा रहेको जगुआर ल्यान्ड रोभर (जेएलआर) ले सन् २०३० सम्ममा भारतमा आठ ओटा ब्याट्री विद्युतीय सवारीसाधन (बीईभी) लन्च गर्ने लक्ष्य राखेको छ। कम्पनीका एक वरिष्ठ अधिकारीले यस्तो बताएको डेक्कनहेराल्डले उल्लेख गरेको छ।
कम्पनीले हाल भारतमा एक इलेक्ट्रिक मोडेल जगुआर आई पेस बिक्री गरिरहेको छ।
पीटीआईसँगको अन्तरक्रियामा, जेएलआरका चिफ कमर्शियल अफिसर लेनार्ड हुर्निकले भने कि अटोमेकरले अर्को वर्ष भारतीय बजारका लागि रेन्ज रोभर बीईभीको अर्डर लिन सुरु गर्नेछ र २०२५ मा डेलिभरी सुरु हुने अपेक्षा गरिएको छ।
“हामी भारतमा दशकको अन्त्यसम्ममा कम्तीमा ८ वटा बीईवीहरू ल्याउने योजनामा छौं,“ उनले भने।
सन् २००८ देखि टाटा मोटर्सको पूर्ण स्वामित्वमा रहेको बेलायती अटोमेकरले सन् २०३९ सम्ममा विश्वव्यापी रूपमा नेट–शून्य कार्बन व्यवसाय बन्ने लक्ष्य राखेको छ।
भारतीय बजार अटोमेकरका लागि ’ठूलो रणनीतिक प्राथमिकता’ भएको भन्दै हूर्निकले विद्युतीय गतिशीलतामा रुपान्तरण गर्दा देश सही दिशामा रहेको उल्लेख गरे।
उनले प्रारम्भिक चरणमा सब्सिडीलाई बढवा दिनु, चार्जिङ पूर्वाधारको सही परिमाणको स्थापना र उत्कृष्ट उत्पादन (इभी)ले देशमा विद्युतीय कारलाई अपनाउन प्रोत्साहन गर्ने बताए।
हुर्निकले विश्वभरका सरकारहरूले सब्सिडी दिएर विद्युतीय कारहरूलाई बढवा दिने प्रयास गरिरहेको बताए।
प्रकाशित: १४ आश्विन २०८०, आईतवार