भारतमा स्मार्टफोन विष्फोट हुँदा ३ जना घाइते, पार्किङमा राखिएका कारका झ्यालहरुमा पनि क्षति

  • Technology Khabar | १२ आश्विन २०८०, शुक्रबार
भारतमा स्मार्टफोन विष्फोट हुँदा ३ जना घाइते, पार्किङमा राखिएका कारका झ्यालहरुमा पनि क्षति

काठमाडौं ।

भारतको महाराष्ट्रस्थित नासिकमा रहेको एउटा घरमा स्मार्टफोन विष्फोट भएको छ। स्मार्टफोन र डिओडोरेन्टको क्यान विस्फोट हुँदा केही व्यक्ति घाइते हुनुका साथै बाहिर पार्क गरिएका कारहरुका झ्यालहरू समेत फुटेको उल्लेख गरिएको छ।

नासिकमा अज्ञात स्मार्टफोन विस्फोट

सामान्यतया, यस्तो उपकरण विस्फोट हुँदा विस्फोट भएको क्षेत्र (इमिडियट एरिया) वा यसलाई बोक्ने व्यक्तिमा मात्र क्षति सीमित हुने गर्दछ। तर महाराष्ट्रको नासिकस्थित घरभित्र भएको यस स्मार्टफोन विष्फोटले भने धेरै प्रभाव पारेको उल्लेख गरिएको छ।

भारतीय मिडिया एनडीटीभीकोरिपोर्टका अनुसार उक्त मोबाइल फोन विस्फोटमा परि घरभित्र रहेका तीन जना घाइते भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

विस्फोटमा परि गम्भीर घाइते भएका ती व्यक्तिहरूको हाल हाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। साथै विस्फोट भएको उक्त ह्यान्डसेट कुन मोडल थियो भनी अहिले सम्म पनि स्पष्ट जानकारी उपलब्ध नभएको उल्लेख छ।त्यसैगरी यति ठूलो विस्फोटको कारण स्मार्टफोन मात्रै नभएको र डिओडोरेन्टको क्यान पनि उपकरणको नजिक भएकोले ठूलो विस्फोट हुन गएको जनाइएको छ।

डिओडोरेन्ट हाईली फ्लेमेबल प्रोडक्ट (अत्यधिक ज्वलनशील उत्पादन) हुने गरेको र आगोको कुनै पनि सानो झिल्काको सम्पर्क वा स्पार्कले सम्भावित रूपमा विस्फोट निम्त्याउने गर्दछ। त्यसैले, चार्ज भइरहेको स्मार्टफोन विस्फोट हुँदा नजिकैको झ्यालका साथै घर बाहिरको झ्यालमा पनि क्षति पुगेको उल्लेख गरिएकोछ।

त्यसैगरी विष्फोटबाट घर वरिपरि पार्क गरिएका कारहरू पनि प्रभावित भएका छन् भने केही कारका झ्यालका सिसाहरू पनि फुटेका छन्। रिपोर्टमा साझा गरिएको तस्विरमा घरको झ्यालको सिसाहरू फुट्नुका साथै धातुको रेलिङ र फर्निचर समेत जलेको देखिने उल्लेख गरिएको छ । यस विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको उल्लेख छ। यद्यपी विष्फोटको सही कारण भने अहिले सम्म पनि खुल्न नआएको जनाइएको छ।

प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार