२ लाखले बढे तार मार्फत इन्टरनेट चलाउने प्रयोगकर्ता

Technology Khabar ११ आश्विन २०८०, बिहीबार

काठमाडौं ।

नेपालमा अप्टिकल फाइबर (तार) मार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या बढेको देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० जेठ मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार तार मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या बढेको देखिएको हो।

प्राधिकरणको तथ्यांक अनुसार जेठसम्म इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या १ करोड १७ लाख ६४ हजार ३५० पुगेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणका अनुसार एउटा कनेक्सनबाट औसतमा ४.३७ ग्राहकले इन्टरनेट प्रयोग गर्छन। जेठसम्म इन्टरनेट कनेक्सन संख्या २६ लाख ९२ हजार ७४ रहेको छ।

गत बैशाखकमा कनेक्सन संख्या २६ लाख ४७ हजार ३७९ रहेको थियो। यो भनेको इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड १५ लाख ६९ हजार ४६ हो। बैशाखको तुलनामा जेठमा इन्टरनेट प्रयोग गर्नेको संख्या १ लाख ९५ हजार ३०४ अर्थात १.६८ प्रतिशतले बढेको छ।

२०७९ चैतमा तारबाट इन्टरनेट चलाउने १ करोड १६ लाख ८३ हजार ६८ पुगेको थियो भने बैशाखमा भने प्रयोगकर्ताको संख्या घटेको प्राधिकरणको तथ्यांकमा देखिएको थियो।

नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता वर्ल्डलिंक कम्युनिकेसन प्रालिको रहेको छ। वर्ल्डलिंक ३३ लाख ७७ हजार ८३० ग्राहक सहित शीर्ष स्थानमा छ।

प्रकाशित: ११ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया