
काठमाडौं ।
नेपालमा सूचना तथा सञ्चार क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी बढेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सन् २०२१/२२ अनुसार नेपालमा सूचना तथा सञ्चार क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी बढेको देखिएको छ। यो लगानी सन् २०२२ असार मसान्तसम्मको हो।
उक्त अवधिमा नेपालमा कुल २ खर्ब ६४ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेकोमा सूचना तथा सञ्चार क्षेत्रको हिस्सा ४.८ प्रतिशत छ।
२०२१÷२२ मा नेपालमा सूचना तथा सञ्चार क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब ७३ करोड ३० लाख रुपैयाँ रहेको देखिन्छ। २०२०/२१
सूचना तथा सञ्चार क्षेत्र १० अर्ब ८५ करोड ८२ लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी रहेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष सूचना तथा सञ्चार क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ अर्थात १७.३ प्रतिशतले बढेको छ।
सूचना तथा सञ्चार क्षेत्रमा चीनको प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ६० करोड ५५ लाख रुपैयाँ छ। चीनको कुल लगानी मध्ये सूचना तथा सञ्चार क्षेत्रले ४.८ प्रतिशत हिस्सा ओगटेको छ।
प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये २३१ वटा नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरण विश्लेषणका आधारमा राष्ट्र बैंकले प्रतिवेदन तयार गरेको हो।
प्रकाशित: १० आश्विन २०८०, बुधबार