Technology Khabar १० आश्विन २०८०, बुधबार
काठमाडौं ।
नेपाल इन्जिनियरिङ परिषदद्वारा संचालित लासेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ। लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर पनि अनुत्तीर्ण हुने गरेका छन्।
बिगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था थियो। गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु भएको हो। परिषदले दिएको जानकारी अनुसार गत चैतमा संचालित पहिलो पटकको परीक्षामा दुई हजार छ सय जनाले परीक्षा दिएकोमा ५६५ जना अर्थात् २८.१६ प्रतिमात्र उत्तीर्ण भएका थिए।
विदेश पढेर आएका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ जना उत्तीर्ण हुन सके। सो परीक्षामा इन्जिनियरिङका २० विधाका इन्जिनियरहरू परीक्षामा सहभागी भएका थिए। त्यतिबेला आबेदन दिएका मध्ये त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका ४६ प्रतिशत, पूर्वाञ्चल विश्वविद्यालयका २९.९४ प्रतिशत, पोखरा विश्वविद्यालयका ३०.९० प्रतिशत, मध्यपश्चिम विश्वविद्यालयका १७.७ प्रतिशत, काठमाडौँ विश्वबिद्यालयका १४.७४ प्रतिशत र सुदूरपश्चिम बिश्वबिद्यालयका एक जना मात्रै उत्तीर्ण भएका थिए।
परिषदले दोस्रो पटक गत असारमा परीक्षा सम्बालन गरेको थियो। सो परीक्षामा सहभागी दुई हजार ४६८ जनामध्ये ८०१ जना अर्थात् ३३.८७ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए। त्यतिबेला विदेश पढेर आएका ४०४ जनामध्ये ४१ जना मात्रै उत्तीर्ण हुन सके। स्नातक तहको सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, आर्किटेक्चर, अटोमोबाइललगायत इन्जिनियरिङका २२ ओटा विधाका लागि इन्जिनियरहरू लाइसेन्स परीक्षामा सहभागी भएका थिए।
उत्तीर्णमध्ये काठमाडौं विश्वविद्यालयका ६७.६८ प्रतिशत, त्रिभुवन विश्वविद्यालयका ४१.४८ प्रतिशत, पोखरा विश्वविद्यालयका १४.९ प्रतिशत पूर्वाञ्चलका २४.४९ प्रतिशत र मध्यपश्चिम विश्व विद्यालयका ११.६७ प्रतिशत उत्तीर्ण भएका थिए।
परिषदले तेस्रो पटकको परीक्षा आगामी मङ्सिरमा संचालन गर्दैछ। त्यसका लागि सोमबारसम्ममा दुई हजार चार सय जनाले फाराम भरिसकेका छन्। परिषद्का रजिस्ट्रार शिवमंगल गिरीले बिगतका दुई परीक्षामा पूरक परीक्षाबाट उत्तीर्ण भएकाहरू सम्मिलित भएकाले नतिजा खस्किएको हुन सक्ने तर्क गरे।
इन्जिनियरिङ कलेजका संचालकहरूको संस्था एसोसिएसन अफ इन्जिनियरिङ कलेजेज अफ नेपाल (एफोन) का सदस्य किशोर गौतमले बिगतमा ब्याक पेपर दिएर उत्तीर्ण गरेका मात्र लाइसेन्स परीक्षामा सम्मिलित भएको र अब चारवर्षे कोर्स पूरा गरेका नियमित विद्यार्थीले लाइसेन्स परीक्षामा सहभागिता जनाउने भएकाले उत्तीर्ण दर झन्डै दोब्बर बढ्नसक्ने दाबी गरे।
“परीक्षाका लागि परीक्षा सञ्चालन गर्ने नभई बजारको आबश्यकतासँग पनि परीक्षालाई जोइन सक्नु पर्छ प्रश्नमा पनि एकरूपता हुन नसकेको देखिएको छ। समस्या विद्यार्थीमा मात्र नभई परीक्षा पद्धतिमा पनि हुन सक्छ। परीक्षामा सुधार गर्न परिषद्लाई आग्रह गरेका छौं” उनले भने।
इन्जिनियरिङ परिषदले एक सय पूर्णांकमा कम्तीमा ५० अंक प्राप्त गर्नेलाई लाइसेन्स प्रदान गर्ने गरेको छ। परीक्षामा सबै प्रश्न बस्तुगत मात्रै हुने गरेका छन्। परीक्षामा गलत उत्तर दिएमा अंक घटाउने प्राबधान छैन। हाल नेपालमा ७८ हजार आठ सय इन्जिनियरले लाइसेन्स लिइसकेका छन्। गोरखापत्रबाट
प्रकाशित: १० आश्विन २०८०, बुधबार