
काठमाडौं ।
एआई क्षेत्रमा चीनले १३.७ बिलियन अमेरिकी डलर लगानी बढाउने संकेत गरेको छ। चाइना रिफर्म होल्डिङ्स, सरकारको प्रमुख लगानी शाखाले राष्ट्रको भविष्यका लागि महत्वपूर्ण मानिने उदीयमान उद्योगहरूमा कम्तिमा १०० अर्ब युआन (१३.७ बिलियन अमेरिकी डलर) प्रवाह गर्ने आफ्नो मनसायलाई संकेत गरेको हो।
यो कदम लगानी मात्र नभएर चीनले विशेष गरी संयुक्त राज्य अमेरिकाबाट बढ्दो दबाबको सामना गरिरहेका बेला एक रणनीतिक कदमको रुपमा आएको छ, जसले चीनलाई विश्वव्यापी प्राविधिक आविष्कारको अग्रभागमा राख्ने लक्ष्य राख्ने बताइएको छ।
प्रस्तावित कोषले चीनको नयाँ लगानी रोडम्यापमा बलियो विश्वासको सङ्केत गर्दै राज्यको स्वामित्वमा रहेका उद्यमहरू र निजी क्षेत्रहरू लगायत विभिन्न लगानीकर्ताहरूको ध्यानाकर्षण गरिरहेको उल्लेख छ। यो विकास वर्षको अन्त्यसम्म कोषको अप्रेसनल लन्चमा परिणत हुने अपेक्षा गरिएको छ।
यद्यपि यो आफ्नै प्राविधिक उद्योगहरूलाई समर्थन गर्ने चीनको पहिलो प्रयास भने होइन। २०१४ मा घरेलु चिप उद्योगलाई बलियो बनाउनको लागि ठूलो कोष स्थापना गरिएको थियो। यसले थप फाेकस्ड र अर्जेन्ट एप्राेचलाई संकेत गर्छ।
चीनले विदेशी टेक्नोलोजीमा निर्भरता कम गर्नको लागि दौड गर्दा, विशेष गरी संयुक्त राज्य अमेरिकाबाट, जसले एआई, सेमीकन्डक्टरहरू र बायोटेक्नोलजी जस्ता चिनियाँ प्राविधिक क्षेत्रहरूलाई फन्डिङ गर्नको लागि बढ्दो प्रतिबन्ध लगाएको बेला यो कदम महत्त्वपूर्ण भएको छ।
यसको विपरित, अमेरिकी सरकारले हालसालै अनिवार्य रूपमा चीन जस्ता देशहरूमा चिप उत्पादनको बिस्तार क्षमता सीमित गर्दै चिप्स एण्ड साइन्स एक्टमार्फत कोष संयन्त्रमा आफ्नो पकड बलियो बनाएको बताइएको छ।
यस्ता प्रतिबन्धहरूले प्रमुख प्राविधिक क्षेत्रहरूमा आत्मनिर्भर र विश्वव्यापी रूपमा प्रतिस्पर्धी हुने चीनको संकल्पलाई बढावा दिएको देखिन्छ।
प्रकाशित: १० आश्विन २०८०, बुधबार