
काठमाडौं ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ औपचारिक रुपमा प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरेपनि उक्त एपलाई आइतबारबाट औपचारिक रुपमा प्रयोगमा ल्याइएको हो ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले गुनासो एपलाई सञ्चालनमा ल्याएका हुन्। गाउँपालिका अध्यक्ष पौडेलले गुनासो एपका माध्यमबाट जनताका गुनासोहरुको तत्काल सम्बोधन हुने विश्वास ब्यक्त गरे।
मोबाइलको प्लेस्टोरमा गई ‘गुनासो राप्तीसोनारी एप’ डाउनलोड गरेर सेवाग्राहीले गाउँपालिका कार्यालय, विषयगत शाखा, वडा कार्यालयसँग सम्बन्धित गुनासो पठाउन सक्नेछन् । यसबाट सम्बन्धित शाखालाई गुनासो पठाउन सकिने र गाउँपालिकासँग प्रत्यक्ष कुराकानी गर्न पनि सकिने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए।
गुनासो एपमा गाउँपालिकाले नागरिक बडापत्र नेपाली, थारु र अवधी भाषामा राख्ने तयारी गरेको उनले जानकारी दिए। गाउँपालिकालाई पारदर्शी, सुशासनमैत्री गराउन तथा जनताका गुनासोलाई छिटोभन्दा छिटो समाधान गर्ने उद्देश्यले यस्तो एप प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाको भनाइ छ।
गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनार्दन पौडेलका अनुसार सेवाग्राहीले सम्बन्धित शाखा तथा वडा कार्यालयमा पठाएको गुनासोलाई तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।
जनताको गुनासो सम्बोधन भए/नभएको विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अनुगमन गर्न सक्ने सूचना प्रविधि अधिकृत पौडेलले बताए। यसका लागि गाउँपालिकाले सूचना अधिकारीलाई गुनासो सुन्नका लागि फोकल पर्सन बनाउने तयारी रहेको उनले जानकारी दिए।
गाउँपालिकाले आइतबार उक्त एप प्रयोगमा ल्याएसँगै विभिन्न शाखा प्रमुख, कार्यपालिका सदस्य लगायतलाई प्रशिक्षण दिएको छ । ‘गुनासो एप प्रयोगमा ल्याउने राप्तीसोनारी गाउँपालिका बाँकेकै पहिलो हो,’ सूचना प्रविधि अधिकृत पौडेलले भने।
प्रकाशित: ९ आश्विन २०८०, मंगलवार