
काठमाडौं ।
पठाओ नेपालले आउँदै गरेको बडादशैंको अवसरमा असोज ८ गते (सोमबार) देखि ‘पठाओ दशैं महोत्सव’ अफर सुरू गरेको छ।
असोज ८ गते सुरू भएको महोत्सव असोज २८ गतेसम्म हुने कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए।
यस महोत्सवमा कम्पनीले राइडरहरूका लागि ‘ कम कमिसन धेरै कमाई, यो दसैं रमाई-रमाई’ भन्ने मूल नाराका साथ दैनिक १ प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए।
कम्पनीले अफरको बम्पर पुरस्कार अन्तर्गत यामाहासँगको सहकार्यमा दुई जनालाई यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर दिइने थापाले बताए।
यस महोत्सव अवधिभर चालकहरूले केही राइड बढी लिँदै जाँदा कमिसन पनि घट्दै जानेछ । हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब भने धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जानेछ। जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तिमा १ प्रतिशतसम्म आउनेछ।
बम्पर विजेता लक्की ड्रबाट छानिने र लक्की ड्रमा उम्मेदवार बन्नका लागि राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन)ले निश्चित नियमका साथ निश्चित राइड पूरा गर्नु पर्ने कम्पनीले बताएको छ।
कम्पनीले असोज ३० गते पठाओ नेपालको आधिकारिक सामाजिक सञ्जालबाट लाइभ गरी लक्की ड्र मार्फत बम्पर पुरस्कार घोषणा गरिने जनाएको छ।
ग्राहकका लागि पनि पठाओले आफ्नो एपमा छुट नै छुट लिएर आएको छ । जसअनुसार ग्राहकहरूले फुड अर्डर, कार राइड र बाइक राइडमा ७० प्रतिशतसम्म छुट पाउनेछन् ।
यस्तै पठाओ फुड डेलिभरीमा पाँच वर्षको उपलक्ष्यमा रु. ५, ५५ र ५५५ को अफरहरू लिएर आएको कम्पनीले जनाएको छ।
प्रकाशित: ८ आश्विन २०८०, सोमबार