Technology Khabar ८ आश्विन २०८०, सोमबार
काठमाडौं ।
एप्पलले भर्खरै आईफोन १५ सिरिज सार्वजनिक गरेको छ। नयाँ आईफोन १५ सिरिजको प्रमुख परिवर्तन मध्ये यूनिभर्सल टाइप सी केबल रहेको छ। एप्पलको यस कदमलाई उपभोक्ताहरुले सकारात्मक रुपमा लिएका छ। यसबाट एन्ड्रोइड, आईओएस डिभाइसहरु एउटै चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ।
यद्यपि, चीनका भर्खरैका रिपोर्टहरूले एप्पल स्टोरहरूले नयाँ आईफोन १५ सँग एन्ड्रोइड चार्जिङ केबलहरू प्रयोग गर्दा सावधानी उपनाउन सुझाव दिइरहेका छन्। एन्ड्रोइड चाजिङबाट चार्ज गर्दा अत्यधिक तात्ने उनीहरुको चिन्ता छ।
सुरक्षा चिन्ता वा बिक्री रणनीति?
गुआंगडोङ प्रान्तको फोशानमा रहेको एप्पल एक्सक्यूसिप स्टोरले आईफोन १५ चार्ज गर्न एन्ड्रोइड टाइप–सी केबलहरू प्रयोग नगर्न ग्राहकहरूलाई सल्लाह दिएको गिजमोचाइनाले उल्लेख गरेको छ। स्टोरले इन्टरफेस पिन एरेजमेन्टको भिन्नतालाई हाइलाइट गर्दै एन्ड्रोइड केबलमा प्रयोग गरिएको सिंगल–रो ९–पिन र सिंगल–रो ११–पिन कनेक्टरहरू बीचको अलिकति सानो अन्तरको कारण ओभरहिटिङ हुन सक्ने सुझाव दिएको छ।
रिपोर्टका अनुसार यस्तो सुझाव दिने एउटा मात्र स्टोर छैन। चीनका अधिकांश एप्पल एक्सक्यूसिप स्टोरहरुले यस्तो सुझाव दिइरहेका छन्।
यो एप्पलले आफ्नो आधिकारिक चार्जिङ केबलहरूको खरिदलाई प्रोत्साहन गर्ने प्रयास हुन सक्ने आलोचकहरूले चिन्ता व्यक्त गरेका छन्। एप्पल चार्जरको मूल्य एन्ड्रोइड निर्माताहरूको तुलनामा धेरै बढी हुन्छ।
यस्तो सुझाव वास्तवमा डिभाइस सुरक्षा चिन्ताहरूद्वारा प्रेरित हो वा एप्पलको स्वामित्वका सामानहरूको बिक्री बढाउनको लागि रणनीतिक चाल भन्ने बहस छेडिएको छ। यस सम्बन्धमा एप्पलको तर्फबाट कुनै आधिकारिक टिप्पणी आएको छैन।
प्रकाशित: ८ आश्विन २०८०, सोमबार