
काठमाडौं ।
माइक्रोम्याक्सले भारतीय बजारमा फेरी भारु १५,००० (१८० डलर)को फोनको साथ पुनरागमन गर्ने भएको छ।
गएको जूनमा आएको एक रिपोर्टले भारतीय स्मार्टफोन ब्रान्डहरू माइक्रोम्याक्स, कार्बन र लाभाले भारतमा पुनरागमन गर्ने योजना बनाएको दाबी गरेको हो। लाभा पहिले नै सक्रिय रहेको तथा ब्रान्डले आफ्नो अर्को स्मार्टफोन, लाभा ब्लेज प्रो ५जी यो महिनाको अन्त्यसम्ममा देशमा अनावरण गर्न तयार रहेको उल्लेख छ।
लाभा अग्नि २ ५जीलाई १९ हजार ९ सय ९९ भारतीय रुपैयाँको साथ डेब्यु गरिएको थियो। यसलाई समीक्षक र प्रयोगकर्ताहरू दुवैबाट सकारात्मक प्रतिकृया प्राप्त भएको छ। हाल, द मोबाइल इन्डियनको एक रिपोर्टले माइक्रोम्याक्सले भारतमा दोस्रो कमब्याक गर्ने योजना बनाएको बताइएको छ।
माइक्रोम्याक्स सन् २०२० मा भारतीय स्मार्टफोन बजारमा फर्केको थियो र केही स्मार्टफोनहरू रिलिज गरेको थियो। यद्यपि, अप्रिल २०२२ मा माइक्रोम्याक्स इन २सी लन्च गरेपछि ब्रान्ड निष्क्रिय रहेको उल्लेख छ।
नयाँ रिपोर्टले माइक्रोम्याक्सले लगभग भारु १५,००० (१८० अमेरिकी डलर) को मूल्य ट्याग भएको मिड-रेन्ज फोनमा काम गरिरहेको बताउँछ। डिभाइसको स्पेसीफिकेसनहरू अझै थाहा छैन, तर प्रकाशनले यो मिडियाटेक चिपसँग सुसज्जित हुने दाबी गरेको बताइएकाे छ।
माइक्रोम्याक्सले विगत केही महिनादेखि मिडियाटेक र क्वालकमसँग आफ्नो अर्को स्मार्टफोनलाई पावर गर्न चिप खरिद गर्ने बारे वार्ता गरिरहेको छ। यद्यपि, क्वालकम सम्झौताले माइक्रोम्याक्सको भुक्तानी ढिलाइको हिस्ट्रीको बारेमा उठाएको चिन्ताको कारणले गर्दा अवरोध भयो। त्यसैले, माइक्रोम्याक्सले चाँडै मिडिया टेकसँग सम्झौता गर्ने देखिएकाे छ।
ब्रान्डले सुरुमा यसै वर्ष डिसेम्बरमा स्मार्टफोन लन्च गर्ने लक्ष्य राखेको उल्लेख छ। यद्यपि, यसले अझै चिपसेट अर्डर गरेको छैन। माइक्रोम्याक्सको कमब्याक डिभाइस फेब्रुअरी वा मार्चमा डेब्यू हुनेछ। ढिलाइको कारण चिनियाँ नयाँ वर्ष रहेकाे, जुन अर्को वर्ष फेब्रुअरी १० मा पर्ने उल्लेख छ।
यो फोन २०२४ मा लन्च हुने अपेक्षा गरिएको हुनाले यो कम्पनीको पहिलो ५जी स्मार्टफोनको रूपमा आउन सक्ने बताइएकाे छ।
प्रकाशित: ६ आश्विन २०८०, शनिबार